

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा ‘अलविदा’ सन्देश लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ काठमाडौंको बालाजुस्थित एक रिसोर्टमा सकुशल फेला परेका छन्।
सोमबार बिहान ९:४७ बजे उनले फेसबुकमा ‘सबैजनालाई अलविदा, मलाई माफ गर्नुहोस्’ भन्ने सुसाइड नोट पोस्ट गरेका थिए। त्यसपछि उनको मोबाइल फोन अफ रहेको र उनी सम्पर्कविहीन भएपछि प्रहरीसहित परिवारमा चिन्ता थपिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डा. श्रेष्ठ तार्केश्वर नगरपालिका–३ मा रहेको ‘श्रीनाथ वुटिक रिसोर्ट’मा फेला परेका हुन्। प्रहरी टोलीले उनलाई फेला पारेर सोधपुछ गर्दा उनले ‘मर्न आएको’ जवाफ दिएका थिए। ‘जिउँदै हुनुहुन्छ त ?’ भनेर सोध्दा उनले ‘दाम्लो पाइएन’ भनेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार डा. श्रेष्ठलाई अहिले प्रहरी परिसर भद्रकाली ल्याइँदै छ र त्यसपछि उनी आफ्नै परिवारको जिम्मा लगाइनेछ। उनीमाथि कुनै आपराधिक मुद्दा दर्ता नगर्ने पनि प्रहरीले स्पष्ट पारेको छ।
डा. श्रेष्ठ रामेछाप जिल्ला अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिटेन्डेन्ट हुन्। १८ महिना कार्यरत रहँदा आफूलाई काम गर्न नदिएको गुनासो उनले सामाजिक सञ्जालमै सार्वजनिक गरेका थिए। मानसिक तनावका बीच उनले आत्महत्या प्रयास गर्न सक्ने संकेत दिएपछि प्रहरीले खोजी तीव्र पारेको थियो।
प्रहरीको सक्रियतामा सकुशल उद्धार गरिएका डा. श्रेष्ठको घटनाले मानसिक स्वास्थ्य र कार्यस्थलको दबाबबारे थप गम्भीर बहस सुरु गरेको छ।


