

काठमाडाैं- नेपालको सरकारी स्वास्थ्य सेवा प्रणालीभित्र देखिने राजनीतीकरण, आन्तरिक षड्यन्त्र र दवावको कथन यति बेला एकजना कर्मठ डाक्टरको “अलविदा” सन्देशसँगै सार्वजनिक भएको छ।
डा. केशव श्रेष्ठ रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा १८ महिनासम्म सेवा दिएका थिए। सोमबार बिहान फेसबुकमा अत्यन्तै भावुक र गम्भीर स्टाटस लेख्दै उनी सम्पर्कविहीन भएका छन्। स्टाटसमा उनले आफ्नो चरित्र हत्या, राजनीतिक हस्तक्षेप, अन्यायपूर्ण सरुवा, मानसिक पीडा, र परिवारप्रतिको गहिरो माया खुलस्त रुपमा पोखेका छन्।
“हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे…”
फेसबुक पोस्टमा उनले लेखेका छन् “मलाई माफ गरिदेउ सानु… धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो… काम चोर्ने, ठग्ने सिस्टममा नबस्नेहरूसँग जुध्दा आज म एक्लो भएँ…” यस्ता वाक्यहरूले उनको मानसिक स्थिति र भोगेको संस्थागत पीडाको गहिरो झल्को दिन्छ।
उनको पोस्ट अनुसार, रामेछाप–८ का पूर्व वडाध्यक्ष केदार कार्कीले अनेकौँ अनुचित माग राख्ने, अस्पतालको निर्णय प्रक्रियामा हस्तक्षेप गर्ने, र आफैंले रोजेका कर्मचारीलाई नियुक्त गराउन दवाव दिने गरेको आरोप छ। यी माग नमानेपछि डा. श्रेष्ठमाथि प्रतिशोधपूर्वक कार्यवाही गरिएको उनले दाबी गरेका छन्।
उनले अस्पताल सुधारका लागि ‘वन म्यान आर्मी’ शैलीमा काम गरेको दाबी गर्दै लेखेका छन् , “करिब २५ महिना सेवा गर्दा १८ महिना मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरे। अस्पताललाई व्यवस्थापनमा ल्याएँ। तर जब जब म सिस्टमअनुसार अघि बढेँ, उही सिस्टम मलाई दबाउने षड्यन्त्र बुनिरहेको रहेछ।”
उनले आफूलाई झूठा आरोप लगाएर सरुवा गरिएको भनेर लेखेका छन्। “एप्रन किन नलगाएको भनेर सोध्दा, उल्टै डाक्टरले केदार कार्कीलाई बोलाएर कार्यकक्षमै मलाई धम्की दियो” भन्दै उनले सोही दिनदेखि सुरु भएको राजनीतिक दबाब, मानसिक त्रास र अन्ततः मन्त्रालयले दिएको अपमानजनक व्यवहारका बारेमा खुलाएका छन्।
उनले स्वास्थ्य मन्त्रालय, मन्त्रीदेखि प्रमुख प्रशासकीय अधिकृतसम्म सबैलाई दोषी देखाउँदै कसैले पनि उनको गुनासो नसुनेको बताएका छन्। “१६ टाका लागेर पनि राति परिवारसहित काठमाडौँ त गयौं, तर बिहानै हेटौंडा पुग्न बाध्य पारियो। हाजिर नगराई मन्त्रालयले मेरो गाडी खोस्यो” उनले लेखेका छन्।
डा. श्रेष्ठको अन्तिम वाक्यमा लेखेका छन् “आज आएर मैले गलतिबिनाको सजाय भोगेको छु… मेरो आत्माले तब मात्र शान्ति पाउनेछ जब यी अपराधीहरू कानूनको कठघरामा आउँछन्…”
प्रहरी खोजीमा सक्रिय
फेसबुक स्टाटस पोस्ट गरेलगत्तै उनी सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले भने, “उहाँको मोबाइल अफ छ, ट्र्याक गर्दा काठमाडौँको चाबहिलमा लोकेसन देखिएको छ।” काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले खोजी सुरु गरिसकेको जनाएको छ।


