

काठमाडाैं- नयाँ भेरियन्टसहितको कोरोना भाइरस भारतभर तीव्र गतिमा फैलिन थालेपछि संक्रमित र मृतक संख्या बढ्दै गएको छ। देशका ३० राज्य र केन्द्र शासित प्रदेशमा हालसम्म सक्रिय संक्रमितको संख्या ७ हजार १५४ पुगेको स्वास्थ्य विभागले जनाएको छ।
पछिल्लो एक सातामा दैनिक औसत ४ सय नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ४ जनाको मृत्यु भएको छ, जसमा महाराष्ट्रमा २, र मध्य प्रदेश तथा पश्चिम बंगालमा १–१ जनाको मृत्यु भएको बताइएको छ। महाराष्ट्रमा हालसम्म सबैभन्दा बढी २१ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमण फैलिँदै गएपछि विभिन्न राज्य सरकारले सावधानी अपनाउन थालेका छन्। गुजरातका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले रुघाखोकी वा घाँटी दुख्ने लक्षण देखिएका व्यक्तिलाई घरमै क्वारेन्टाइनमा बस्न र सार्वजनिक स्थलमा नजान आग्रह गरेका छन्। उनले राज्य सरकार संक्रमण नियन्त्रणमा केन्द्र सरकारसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएका छन्।
हाल सबैभन्दा धेरै सक्रिय संक्रमित केरलामा रहेका छन्, जहाँ २ हजार १६५ जना उपचाररत छन्। स्वास्थ्य अधिकारीहरूले सबै नागरिकलाई सावधानी अपनाउन र लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गरेका छन्।
देशभर संक्रमण फैलिन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न जाने मन्त्रीहरूलाई अनिवार्य रूपमा पीसीआर परीक्षण गराउने निर्णय गरिएको छ।


