काठमाडौं- उनलाई बुवाको अनुहार सम्झना छैन, आमाको आँगन देख्न पाइननन्। जन्मदिने आमाबुबा नभए पनि हुर्काउने मायाको कमी थिएन। कारण थिए, “बसन्त बुवा”। जसले उनलाई एक निस्वार्थ मन, आमा बराबरको माया र संरक्षकको साथ दिए।
आज उनी लक्ष्मी रानाभाट “डाक्टर” बनेकी छन्। चिकित्सा क्षेत्रको सबैभन्दा कठिन परीक्षा लाइसेन्स परीक्षा उत्तीर्ण गरेर उनले डाक्टरको परिचय पाएकी छन्। उनको कथा मात्र एक शैक्षिक सफलताको होइन। माया, संघर्ष, संरक्षण र सामाजिक उत्तरदायित्वको पनि हो।
लक्ष्मीको जीवनलाई उज्यालो बनाउने महत्वपूर्ण आधार रह्यो, “आमा स्मृति प्रतिष्ठान”। जसको स्थापना बसन्त राज दवाडीले आफ्नी आमाको सम्झनामा गरेका हुन्। आमाको निधनपछि उनले आफ्नी आमाको सपना बाँचिरहोस् भनेर थुप्रै अभिभावकविहीन बालबालिकाको जीवन उज्यालो पार्ने संकल्प गरे।
लक्ष्मी भन्छिन्, “बसन्त बुवा मेरो आफ्नै जन्म दिने बुबा होइनन्, तर उहाँले मलाई बुवाभन्दा धेरै माया दिनुभयो। उहाँले आमाको सपना जोगाउन सुरु गर्नुभएको प्रतिष्ठान मेरो घर बन्यो, जहाँ मैले अभिभावकत्व पाएँ। म आज जहाँ छु, त्यो उहाँकै कारण हो।”
लक्ष्मीको शब्दमा उनको बाल्यकाल कष्टपूर्ण थियो। “मलाई मेरो बुवाको अनुहार याद छैन, आमाको आवाज कहिल्यै थाहा भएन। तर जबजब मलाई ती व्यक्तिको अभाव महसुस हुन्थ्यो, त्यो बेला कसैले न कसैले त्यो रिक्तता पुरा गरिदिनुहुन्थ्यो।” उनले सामाजिक सञ्जालमा लेखेकी छिन्। यसै कारण उनी आज पनि हरेक गुरू, अभिभावक र साथीप्रति कृतज्ञ छिन्।

हजुरआमाको त्याे बाेलि…
९२ वर्षीया हजुरआमाले बाेलेका एउटा वाक्यले उनकाे जीवन नै परिवर्तन गर्याे। “यो नानीको बुवा आमा छैन, जतिसम्म पढाउन सकिन्छ, पढाइदिनु” भन्ने त्यहिँ वाक्य लक्ष्मीको जीवनको मोड बन्न पुग्यो। आज उनै लक्ष्मी एमबीबीएस पास गरेर रजिस्टर्ड डाक्टर बनेकी छिन्। लक्ष्मी भन्छिन्, “हजुरआमाको विश्वास र उहाँको आशिर्वादको कारण आज म डाक्टर बनेकी छुँ।”
उनी आफ्ना प्रेरक व्यक्तित्व “बसन्त बुवा”बारे लेख्छिन् , “कोही पनि आमा हुनलाई जन्म दिनैपर्छ भन्ने छैन, एक बुवा पनि आमा हुन सक्छन्। म बुवाआमाको अनुहारबिना हुर्किएँ, तर कहिल्यै त्यो मायाबिना थिइनँ।”
लक्ष्मी आग्रह गर्छिन्, “यदि तपाईं वरिपरि आमाबुबा नभएको बच्चा देख्नुहुन्छ भने, केही समयको लागि भए पनि उहाँलाई माया दिनुहोस्, साहारा दिनुहोस्। तपाईंको सानो प्रयत्नले कसैको जिन्दगी बदलिन सक्छ।”
उनले प्रतिष्ठानसँग आवद्ध अन्तर्राष्ट्रिय दाताहरू माथियास मारिया डोल्ड्, एनेट कोबर, डा. भेलेस्का फिसर, डा. क्रिस्टा लगायत सबैप्रति गहिरो धन्यवाद प्रकट गरेकी छिन्।
उनले एमबीबीएस सकिएको तर यात्रा भने नटुंगिएको बताएकी छिन्। “यो त केवल सुरुवात हो। मलाई साथ दिने, आशीर्वाद दिने, माया गर्ने सबैजनालाई कृतज्ञता। मेरो जीवन तपाईंहरूको प्रेमको ऋणले भरिएको छ,” डा. लक्ष्मी रानाभाटले लेखेकी छिन्।








