मानव शरीरमा मुटुले निरन्तर रूपमा खुम्चने (सिस्टोल) र आराम गर्ने (डायस्टोल) प्रक्रिया सञ्चालन गर्छ, जसलाई कार्डियाक चक्र भनिन्छ। औसतमा एक कार्डियाक चक्र ०.८ सेकेन्डमा सम्पन्न हुन्छ र मुटुले एक मिनेटमा झन्डै ७५ पटक यस्ता चक्र दोहोर्याउँछ।
यस प्रक्रियासँगै, मुटुले पम्प गर्ने रगतले रक्तनलीका भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। रगत पम्प गर्दा नलीहरूमा पर्न जाने उच्च दबाबलाई सिस्टोलिक चाप, र विश्रामको समयमा पर्न जाने न्यून दबाबलाई डायस्टोलिक चाप भनिन्छ।
उच्च रक्तचाप (हाइपरटेन्सन) को समस्याले टाउको झम्झमिने, आँखामा पीडा हुने, र दीर्घकालीन रूपमा मुटु, मिर्गौला तथा मस्तिष्कसम्बन्धी रोगको जोखिम समेत बढाउँछ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार उच्च रक्तचापका प्रमुख कारणहरूमा लामो समयको मानसिक तनाव, व्यायामको अभाव, असन्तुलित भोजन, धूमपान-मद्यपान, शरीरको अधिक वजन, तथा वंशाणुगत कारणहरू पर्दछन्।
उच्च रक्तचापबाट बच्न अपनाउन सकिने उपायहरू:
.उमेर, उचाइ र जीवनशैलीअनुसार सन्तुलित भोजन लिनु
-नियमित व्यायाम र योग गर्नु

-मानसिक तनाव कम गर्ने अभ्यास गर्न
-मोटोपना नियन्त्रणमा राख्नु
-धूमपान तथा मद्यपान पूर्ण रूपमा त्याग्नु
-समय समयमा विशेषज्ञसँग स्वास्थ्य परीक्षण गराउनु
विशेषज्ञका अनुसार जीवनशैलीमा सुधार, सन्तुलित आहार र मानसिक शान्ति कायम गर्न सके उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।







