काठमाडौं- नेपालमा बाथरोग सम्बन्धी विशेषज्ञ सेवा दिँदै आएको नेशनल बाथरोग सेन्टरले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ। सेन्टरले १२ वर्षमा पाँच लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेको छ। उपचार मात्र होइन, प्रविधि, जनचेतना र दक्ष जनशक्ति उत्पादनमा समेत केन्द्रले उदाहरणीय कार्य गरेको दाबी गरेको छ।
प्रवन्ध निर्देशक रोशन कक्षपति का अनुसार बाथरोगको उपचारमा केन्द्रले ‘गुणस्तर र पहुँच’लाई प्राथमिकता दिँदै आएको छ। २०१३ मै नेपालमा पहिलो पटक १८ वटा इएनए प्यानल एन्टिजेन परीक्षण सुरु गर्नु यसकै उदाहरण हो। १२ वर्षे यात्राबारे कक्षपति भन्छन्, “हामी उपचारमा सीमित छैनौं, प्रविधि, जनचेतना र मानवीय संवेदनामा पनि अग्रसर छौं। हाम्रो दृष्टिकोणले बाथरोग उपचारमा नयाँ मापदण्ड स्थापित गरेको छ।”

१२ वर्षमा नेशनल बाथरोग सेन्टरले चिकित्सा सेवा, प्रविधि, जनशक्ति र अन्तर्राष्ट्रिय सहकार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। हाल सेन्टरमा नेल फोल्ड क्यापिलेरोस्कोपी, थर्मोग्राफी, मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड जस्ता अत्याधुनिक उपकरण प्रयोगमा छन्।
भारतका ख्यातिप्राप्त संस्थाहरूसँग सहकार्य गर्दै सेन्टरले पोस्ट डक्टरेट फेलोसिप इन क्लिनिकल र्युम्याटोलोजी कार्यक्रम सञ्चालन गर्दै आएको छ। डा. मनिषा भोछिभोया र डा. आदिप अरुण श्रेष्ठ ले हालै उक्त फेलोसिप सफलतापूर्वक सम्पन्न गरेका छन्।

सेन्टरले बिरामीसँगको निरन्तर सम्पर्कका लागि मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ।
औषधि नियमित सेवन नगरिने समस्या देखिएकोले, समयमै सन्देश पठाउने फिचर एपमा राखिएको छ। सेन्टरले पहिले २० हजार रुपैयाँ लाग्ने बाथरोग परीक्षण सेवा हाल १५ हजार रुपैयाँमा सीमित गरेको छ।
नेपालमै उपलब्ध सेवा विदेशको तुलनामा सस्तो र गुणस्तरीय भएको केन्द्रको दाबी छ।
तर, हालको स्वास्थ्य बीमा प्रणालीले आवश्यक परीक्षणहरू पर्याप्त कभर नगरेको गुनासो केन्द्रको छ।
बीमाले इम्युनोलोजिकल टेस्टहरू समेटेमा, केन्द्र जस्ता संस्थाले बीमासँग सहकार्य गर्न सक्ने बताइएको छ।
हाल सेन्टरमा ११ जना विशेषज्ञ चिकित्सकसहित १०८ जना जनशक्ति कार्यरत छन्। काठमाडौं बाहिर ८ वटा शाखा सञ्चालनमा छन्। यस वर्ष धनगढी र सुर्खेतमा नयाँ शाखा खोल्ने तयारी भइरहेको बताइएकाे छ।








