काठमाडौँ- भारतमा फेरि कोरोनाभाइरस संक्रमणको संख्या बढ्न थालेको छ। पछिल्लो विवरण अनुसार झन्डै ४ हजार सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार हाल देखा परेका चार भेरिअन्टमध्ये ‘जेएन १’ प्रमुख भेरिअन्ट हो, जुन ओमिक्रोनको सब-भेरिअन्ट हो।
डा. संजय रायका अनुसार जेएन १ नयाँ नभई अघिल्लो वर्ष नै पत्ता लागेको भेरिअन्ट हो। यसबाट हुने लक्षण सामान्य रुघाखोकीजस्तै छन्। हालसम्म यो खतरनाक देखिएको छैन। तर यसले तीव्र गतिमा संक्रमण फैलाउन सक्ने भएकाले सर्तकता आवश्यक छ।
विशेषज्ञहरूको भनाइमा, दुई–तीन वर्षअघि लगाइएका कोभिशिल्ड, कोभ्याक्सिन वा स्पुतनिक जस्ता खोपहरूले हालको भेरिअन्टविरुद्ध पूर्ण सुरक्षा नदिए पनि केही हदसम्म संक्रमणको गम्भीरता कम गर्न सक्छन्। बुस्टर डोज लिएका व्यक्तिहरूमा रोग प्रतिरोधी क्षमता अझै बाँकी रहने सम्भावना उच्च रहेको डा. अविनाश भोंडवे बताउँछन्।

तर अन्य डाक्टरहरूका अनुसार पुराना खोपहरू नयाँ भेरिअन्टविरुद्ध पूर्ण प्रभावकारी नहुने र इन्फ्लुएन्जाजस्तै कोभिडका लागि पनि समय-समयमा नयाँ खोप आवश्यक हुने बताएका छन्।
डा. अविनाश गावंडेका अनुसार हाल देखिएको भेरिअन्टले नयाँ लहर निम्त्याउने सम्भावना न्यून छ। कारणहरूमा जनसंख्याको ठूलो हिस्सामा खोप लगाइसकिएको, भेरिअन्टको गम्भीरता कम भएको, र संक्रमित भएका मानिसमा प्रतिरोधी क्षमता विकास हुने उल्लेख गरिएको छ।
हाल स्थिति भयावह नरहे पनि बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोग भएका व्यक्तिहरूले विशेष सर्तकता अपनाउनु आवश्यक छ। मास्कको प्रयोग, भीडभाडबाट जोगिनु र स्वास्थ्यमा सामान्य परिवर्तन देखिए परीक्षण गराउनु विज्ञहरूको सल्लाह छ।








