काठमाडौँ- नेपाली आँप पाक्ने स्वाभाविक सिजन अझै सुरु भइसकेको छैन । असारपछि मात्र बजारमा आइपुग्ने नेपाली आँप अहिले भने कार्बाइडजस्ता रसायन प्रयोग गरेर जबरजस्ती पकाइएर उपभोक्तासम्म आइपुगेको छ। यस्तो खालको आँप स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको विज्ञहरूले बताएका छन्।
राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार अगौटे जातको आँप अझै पाक्ने चरणमा छैन। तर, उपत्यकालगायत देशभरका बजारमा बिक्री भइसकेको छ। खुद्रा व्यापारीमार्फत उपभोक्तासम्म पुगिरहेको यस्तो आँप स्वादिलो त हुन्न नै, पोषक तत्त्वसमेत न्यून हुने विज्ञहरूको भनाइ छ।
स्वास्थ्य विज्ञ डा. सञ्जीव ढकालका अनुसार, “केमिकल प्रयोग गरेर पकाइएको फलफूलले अल्पकालीन मात्र होइन, दीर्घकालीन असर पुर्याउँछ।” पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता सामान्य लक्षणदेखि फोक्सो, मुटु र मिर्गौलामा समेत गम्भीर असर गर्न सक्ने खतरा रहेको उनले बताए।

किसानले राम्रै मूल्य पाउने भएपछि काँचो आँप व्यापारीलाई बेचिरहेका छन्। व्यापारीहरूले ती आँप कार्बाइड प्रयोग गरेर छिटो पकाई बजारमा पठाइरहेका छन्। यसरी अल्पकालीन फाइदा लिने चलनले दीर्घकालीन रूपमा उपभोक्ताको स्वास्थ्यमा असर गरिरहेको विज्ञहरूको चिन्ता छ।
यही साता धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका २ हजार २७६ किलो आँप नष्ट गरेको थियो। तर, काठमाडौं उपत्यकामा भने यस्तो प्रभावकारी अनुगमन देखिएको छैन। काठमाडौं महानगरले कालीमाटी फलफूल तथा तरकारी बजारमा परीक्षण गर्दा लिचीमा विषादी फेला परेको थिएन भने आँपको परीक्षण विवरण भने सार्वजनिक गरिएको छैन।
विज्ञहरू उपभोक्तालाई आँप खरिद गर्दा विशेष सतर्कता अपनाउन आग्रह गर्छन्। उनीहरूका अनुसार सिजनमा प्राकृतिक रूपमा पाकेको फलफूल मात्र उपभोग गर्नु नै सुरक्षित हुन्छ। सरकार र स्थानीय निकायलाई यस्ता अस्वस्थ उत्पादन र बिक्री नियन्त्रण गर्न कडा अनुगमन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।








