काठमाडौँ- काठमाडौँको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न जिल्लाबाट भित्रिएको तरकारीको विषादी परीक्षण गर्दा सबै नमुनामा विषादीको अवशेष सुरक्षित सीमाभित्र रहेको पाइएको छ।
महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सोमबार राति १० बजेदेखि बिहान ३ बजेसम्मको समय अवधिमा घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) प्रयोग गरी १७४ वटा तरकारी, फलफूल र सुकेको माछाका नमुना संकलन गरी परीक्षण गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीका अनुसार नेपालका करिब २० जिल्लाबाट काठमाडौँ भित्रिएका तरकारीको नमुना परीक्षण गर्दा सबैमा विषादीको मात्रा मापदण्डभित्र रहेको पुष्टि भएको हो।
टोलीमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुवेदीसहित खाद्य अनुसन्धान अधिकृत सुशान्त निरौला, अनुसन्धान अधिकृत पदम भुषाल, काठमाडौँ महानगरपालिकाका फुड टेक्नोलोजिस्ट अशोक पराजुली सहभागी थिए।

परीक्षणका लागि काँक्रो, घिरौँला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारी संकलन गरिएका थिए। फलफूलमा बजारमा लिची मात्र देखिएकोले लिचीको नमुना परीक्षणमा राखिएको थियो। यस्तै, सुकेको माछाको नमुना पनि परीक्षण गरिएको थियो।
सङ्कलित नमुनाहरू आरबीपीआर विधिबाट परीक्षण गरिएका हुन्। परीक्षणमा मुख्यतः अर्गानोफस्फेट र कार्बामेट समूहका विषादीहरूको उपस्थिति खोजिएको थियो।
तरकारीहरू चितवन, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, सर्लाही, धादिङ, नुवाकोट लगायतका जिल्लाबाट काठमाडौँ भित्रिएका थिए। परीक्षणको निष्कर्षले उपभोक्ताका लागि राहत दिने संकेत दिएको छ।







