गर्मीको मौसममा खरबुजा एक अत्यन्तै लोकप्रिय फल मानिन्छ, जुन शरीरलाई शितलता दिनुका साथै डिहाइड्रेशन अर्थात् पानीको कमी पूर्ति गर्न मद्दत गर्छ। तर यो फल सबैका लागि फाइदाजनक हुँदैन। केही स्वास्थ्य समस्यामा खरबुजा खानु शरीरका लागि हानिकारक हुन सक्छ। यसले शरीरमा असन्तुलन सिर्जना गर्न सक्छ वा अन्य समस्याहरू निम्त्याउन सक्छ।
विशेषगरी मधुमेह (डायबिटिज), मिर्गौला रोग, सर्दी-रुघाखोकी, एलर्जी वा डायरियाबाट पीडित व्यक्तिहरूले खरबुजाको सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। यस्तो अवस्थामा सतर्क रहनु जरूरी हुन्छ।

कसलाई खरबुजा खानु हानिकारक हुन सक्छ ?
१. मधुमेह भएका बिरामी
खरबुजामा प्राकृतिक चिनी अर्थात् फ्रक्टोज उच्च मात्रामा पाइन्छ, जसले रगतमा चिनीको मात्रा एक्कासी बढाउने खतरा हुन्छ। मधुमेहका बिरामीले यो फल सीमित मात्रामा वा चिकित्सकको सल्लाहअनुसार मात्र सेवन गर्नुपर्छ।
२. एलर्जी वा संवेदनशील पेट भएका व्यक्ति
केही व्यक्तिलाई खरबुजाबाट एलर्जी हुने गर्छ, जसबाट छालामा र्यास, खुजली, सुन्निनेजस्ता समस्या देखिन सक्छ। त्यस्तै संवेदनशील पेट भएका मानिसहरूले धेरै खरबुजा खाँदा ग्यास, अपच वा पेट दुख्ने समस्या हुन सक्छ।

३. बारम्बार सर्दी-जुकाम हुनेहरू
खरबुजाले शरीरलाई चिसो बनाउँछ। जसका कारण ठन्डी खानेकुरा खाँदा छिट्टै सर्दी-जुकाम वा घाँटी दुख्ने समस्या हुनेहरूका लागि यो फल हानिकारक हुन सक्छ।
४. मिर्गौला रोगीहरू
खरबुजामा पोटासियमको मात्रा धेरै हुन्छ, जुन सामान्य मिर्गौला भएका व्यक्तिका लागि लाभदायक हुन्छ। तर मिर्गौला समस्याग्रस्त बिरामीका लागि बढी पोटासियम सेवन खतरनाक हुन सक्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनु अनिवार्य छ।
५. डायरिया वा लुज मोसन भएका बिरामी
खरबुजा पानीको मात्रा धेरै भएको फल हो। डायरिया वा पेट बिग्रिएको अवस्थामा खरबुजाले समस्या झन् बढाउने सम्भावना हुन्छ। त्यसैले यस्तो बेलामा यो फलबाट टाढै रहनु उपयुक्त हुन्छ।
खरबुजा स्वादिलो र पौष्टिक फल हो, तर सबैका लागि उपयुक्त नहुन सक्छ। यदि तपाईं माथि उल्लिखित स्वास्थ्य समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने, चिकित्सकको सल्लाह लिएर मात्रै यसको सेवन गर्नुहोस् वा सुरक्षित विकल्प रोज्नुहोस्। स्वास्थ्यमा सजगता नै दीर्घकालीन फाइदाको आधार हो।







