काठमाडौं — चाउमिन स्वादिलो मात्रै होइन, छिटो तयार हुने, सस्तो र सबै उमेर समूहका लागि आकर्षक पनि हुन्छ। त्यसैले सडक छेउका ठेला होउन् या ठूला रेस्टुरेन्ट, चाउमिन प्रायः सबै ठाउँमा सजिलै पाइन्छ। तर, बारम्बार वा अत्यधिक चाउमिन खाने बानीले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।
विशेषज्ञहरू भन्छन् ‘चाउमिनको स्वादमा लठ्ठिँदा हामी त्यसभित्र मिसाइएका स्वास्थ्यका लागि हानिकारक तत्वहरूको ख्याल गर्न बिर्सन्छौं।’

चाउमिन धेरै खाँदा हुने प्रमुख समस्याहरू :
अजिनोमोटो — चाउमिनको स्वाद बढाउन प्रयोग हुने यो रसायनले टाउको दुख्ने, भोक अनियमित हुने, र मस्तिष्कमा असर गर्न सक्छ। धेरै प्रयोग भयो भने ‘चाइनिज रेस्टुरेन्ट सिन्ड्रोम’ जस्तो समस्या पनि आउन सक्छ।
अत्यधिक तेल — पटक–पटक तताइएको तेलले ट्रान्सफ्याट बनाउँछ, जसले कोलेस्ट्रोल बढाउँछ र मुटु रोग निम्त्याउन सक्छ।

सोडियमको मात्रा — सोया सस र नुनको अत्यधिक प्रयोगले रक्तचाप बढाउने, किड्नीमा असर पार्ने, र शरीरमा पानी अड्किने समस्या ल्याउने जोखिम हुन्छ।
प्रशोधित नुडल्स — लामो समय टिकाउने रङ र रसायन मिसिएको नुडल्सले दीर्घकालीन रूपमा क्यान्सरको खतरा समेत निम्त्याउन सक्छ।
मैदा — पोषक तत्व रहित मैदा कब्जियत, ग्यास्ट्रिक, र पाचन गडबडीको कारण बन्न सक्छ।
चाउमिन कहिलेकाहीँ स्वादका लागि ठीकै हो, तर अत्यधिक सेवनले तपाईँको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले भोलि चाउमिनको प्लेट अर्डर गर्नु अघि, स्वास्थ्यलाई एकपल्ट सम्झनुहोस् !







