वीरगञ्ज — वीरगञ्जस्थित नारायणी अस्पतालको सघन उपचार कक्ष (आइसीयू) र कार्डियाक केयर युनिट (सीसीयू) मा शुक्रबार राति करिब तीन घण्टा विद्युत आपूर्ति अवरुद्ध हुँदा उपचाररत १७ जना बिरामीको ज्यान जोखिममा परेको छ।
शुक्रबार राति करिब १०:३० बजेदेखि शनिबार बिहान १:०० बजेसम्म आइसियु र सिसियुमा विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। अस्पताल प्रशासनले समयमै ध्यान नदिँदा सर्किट सर्ट भएर यस्तो घटना भएको बताइएको छ।
विद्युत अवरुद्ध हुँदा अस्पतालका चिकित्सक र नर्सिङ स्टाफले मोबाइलको बत्ती बालेर उपचार जारी राखेका थिए। बिरामीको स्वास्थ्य जटिल हुँदै जाँदा अस्पताल प्रशासनले दुईजना गम्भीर बिरामीलाई अन्यत्र सार्ने तयारी गरिरहेको समयमा करिब तीन घण्टापछि बिजुली आपूर्ति पुनः सुरु भएको थियो।

घटनापछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख गौतम मिश्र, नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ता, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्ररञ्जन साहलगायत अस्पतालसँग सम्बद्ध पदाधिकारीहरूको बैठक बसेको थियो।
बैठकमा प्रमुख जिल्ला अधिकारी अर्यालले अस्पताल जस्तो संवेदनशील ठाउँमा यस्तो लापरबाही गम्भीर अपराधसरह हुने भन्दै जिम्मेवारी पूरा गर्न कडाइका साथ निर्देशन दिएका छन्। प्रहरी प्रमुख मिश्रले २४ घण्टा इलेक्ट्रिसियन स्ट्यान्डबाईमा राख्न र मानसिक तथा शारीरिक रूपमा सक्षम कर्मचारी खटाउन सुझाव दिएका छन्।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विकास समितिका अध्यक्ष गुप्ताले जनाउँदै सम्बन्धित शाखाका कर्मचारीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए। तत्कालीन ड्युटीमा रहेका इलेक्ट्रिसियन इन्चार्ज सञ्जीव गुप्तालाई निलम्बन गरिएको छ भने जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि पत्राचार गरिएको अस्पताल प्रशासनले जनाएको छ।








