

काठमाडाैं- जिउँदै मान्छे पोलेर हत्या गरेको आरोपमा वर्षौं थुनामा रहेका र अदालतबाट सफाइ पाएर हालै मात्र रिहा भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम मस्तिष्कघात (ब्रेन स्ट्रोक) काे कारण अस्पताल भर्ना भएका छन्।
शुक्रबार बिहान करिब ७ बजे अचानक बोली अस्पष्ट हुनुका साथै शरीरको एक भाग कमजोर भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। जाँचपछि उनलाई ‘एक्यूट इस्केमिक स्ट्रोक’ भएको पुष्टि भएसँगै तत्काल ‘टिपीए’ औषधि प्रयोग गरेर उपचार थालिएको अस्पतालले जनाएको छ।
अहिले आलम सघन उपचार कक्षमा विशेषज्ञ स्रायु चिकित्सकको निगरानीमा उपचाररत छन् र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो रात रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तरलगायत घाइतेहरूलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा आलम पक्राउ परेका थिए। उक्त आरोपका आधारमा उनी २०७६ असोज १९ गते पक्राउ परेका थिए र पाँच वर्ष जेलमा बसेका थिए।
तर, उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई बुधबारमात्रै सफाइ दिएको थियो। सफाइ पाएको दुई दिनपछि आलम मस्तिष्कघात भई अस्पताल भर्ना भएका हुन्।


