

काठमाडाैं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) द्वारा लिइएको ७२औं स्नातक तह (युजी) लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ। जेठ १२ देखि १५ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी परीक्षार्थीमध्ये ७७.९९ प्रतिशतले सफलता हात पारेका छन्।
२ हजार ९० परीक्षार्थीमध्ये २ हजार ७७ जनाले परीक्षा दिएका थिए। १३ जना अनुपस्थित रहे। मेडिकल र डेन्टल दुवै शाखालाई समेटिएको यस परीक्षामा मेडिकलतर्फ १ हजार ६११ जना परीक्षार्थीमध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए, जसमा ७६.६२५ प्रतिशत अर्थात् १ हजार २२६ जना उत्तीर्ण भए। डेन्टलतर्फ भने ४७७ जनाले परीक्षा दिँदा ८२.६० प्रतिशत अर्थात् ३९४ जना पास भएका छन्।
कुल १ हजार ६२० जनाले लाइसेन्स प्राप्त गरेका छन् भने ४५७ जनाले अझै पनि तयारीमा जुट्नुपर्ने भएको छ। यस नतिजाले चिकित्सा शिक्षा क्षेत्रको प्रतिस्पर्धात्मक स्वरूप र तयारीको गहिराइ झल्काउँछ।


