काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राख्दै १० अर्ब रुपैयाँ विनियोजन गर्ने भएको छ। अर्थ मन्त्रालयले तयार पारेको बजेट प्रस्तावमा यो कार्यक्रमलाई सुदृढ बनाउने उद्देश्यसहित बजेट छुट्याइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुरुमा ८३ अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरिएको थियो, जुन अघिल्लो वर्षको ८६ अर्ब रुपैयाँभन्दा तीन अर्ब कम थियो। तर, स्वास्थ्य बीमामा देखिएको बजेट अभाव र मन्त्रालय अन्तर्गतका अन्य कार्यक्रमहरूमा खर्च बढ्ने देखिएपछि अर्थ मन्त्रालयले थप १३ अर्ब बजेट वृद्धि गर्दै कुल रकम ९६ अर्ब रुपैयाँ पुर्याएको हो।
बजेटमा संघीय राजधानीमा विशिष्ट उपचार सेवा विस्तार, प्रदेश अस्पतालहरूमा सेवा सुदृढीकरण, सातै प्रदेशमा क्यान्सर तथा जलन उपचार सुविधा, मानव अंग प्रत्यारोपण सेवा विस्तार, न्यूरो अस्पताल स्थापना, मधेश प्रदेशमा किड्नी उपचार केन्द्र स्थापना जस्ता योजनाहरू समावेश छन्।

स्वास्थ्य बीमा सुधार, बक्यौता रकम शून्यमा झार्ने लक्ष्य, नसर्ने रोगको पहिचान तथा रोकथामका लागि राष्ट्रव्यापी कार्यक्रम सञ्चालन, र घर टोलमै स्वास्थ्य प्रवद्र्धन अभियान सञ्चालनसमेत बजेटमा उल्लेख गरिएको छ।
सरकारले यी योजनाहरूलाई नागरिकलाई दीर्घकालीन रूपमा निरोगी बनाउने लक्ष्यसहित अघि बढाउने जनाएको छ।








