काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि “ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट” तालिम सुरु भएको छ। नेपालमै पहिलोपटक सुरु गरिएको यस तालिममा २४ जना मेडिकल अधिकृत सहभागी छन्। तालिम राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको सहयोगमा आयोजना गरिएको हो।

ट्रामा सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार यो तालिम पाइलट प्रोजेक्टको रूपमा सुरु गरिएको हो। “एमबीबीएस अध्ययन सकेर सेवामा खटिएका मेडिकल अफिसरहरूले ट्रामा तथा चोटपटकबाट घाइते बिरामीको जीवन जोगाउन सक्ने सीप सिकून् भन्ने उद्देश्यले यो तालिमको आयोजना गरेका हौं,” उनले भने।
तीन दिनसम्म चल्ने तालिममा राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, ग्राण्डी अस्पताल र धुलिखेल अस्पतालका चिकित्सक सहभागी छन्।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले तालिमको उद्घाटन गर्दै आकस्मिक क्यासल्टी व्यवस्थापनमा यस्तो तालिम अनिवार्य भएको बताए। उनले दक्ष जनशक्तिको आवश्यकता अझै पनि देशभर महसुस भइरहेको उल्लेख गर्दै स्वास्थ्य पूर्वाधार र स्रोत अभिवृद्धिमा सरकार प्रतिबद्ध रहेको बताए।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका कार्यवाहक निर्देशक डा. माधव लम्सालले विपद् र दुर्घटनाको बेला कसरी गम्भीर घाइतेको व्यवस्थापन गर्ने भन्नेमा तालिम केन्द्रित भएको बताए।







