काठमाडाैं- नेताका नाममा खोलिएको सामुदायिक अस्पताल अब निजी समूहको हातमा पुगेको छ। बसुन्धरास्थित १०० शैय्याको महेन्द्र नारायण निधी मेमोरियल अस्पताललाई अब स्कुल अफ प्लानिङ, मोनिटरिङ, इभालुएसन एण्ड रिसर्च (एसपीएमईआर) प्रालि नामक कम्पनीले ३५ वर्षका लागि भाडामा लिएको छ।
कम्पनीका पछाडि हेराल्ड इन्टरनेशनल कलेजका सञ्चालकहरूको संलग्नता छ। कलेजका अध्यक्ष कपिल ज्ञवाली भन्छन्, “अस्पताल र नर्सिङ कलेज दुबैको व्यवस्थापन हामीले लिएका छौं। अब नियमित सेवा दिन्छौं।”
अस्पतालका अध्यक्ष कृष्ण वस्ती भन्छन्, “३५ वर्षका लागि व्यवस्थापन दिइएको हो।” तर उनले आर्थिक सहमतिबारे केही खुलाएनन्।
तर प्रश्न उठ्छ नेता महेन्द्र नारायण निधीको नाममा खोलिएको यो सामुदायिक अस्पताल आज किन निजी समूहलाई सुम्पनुपर्ने स्थिति आयो ? नेपाली कांग्रेसका नेता निधीको सम्झनामा उनका छोरा विमलेन्द्र निधीले स्थापना गरेको यो अस्पतालका लागि वर्षौँदेखि राज्यले करोडौँ रुपैयाँ अनुदान दिँदै आएको थियो। तर पछिल्ला वर्षमा आर्थिक पारदर्शिता अभाव, नेतृत्वको अकर्मण्यता र राजनीतिक संरक्षणका कारण अस्पताल सञ्चालनमा असफल रहँदै आएको थियो।

तीन रोपनी क्षेत्रफलमा फैलिएको ६ तलाको भवनसहितको यो अस्पताल अहिले तलब दिन नसक्ने स्थितिमा पुगेपछि नयाँ व्यवस्थापनको खोजी थालिएको थियो। मंसिरदेखि विभिन्न समूहसँग गोप्य छलफल भएको थियो।
निधी सहकारीअन्तर्गत सञ्चालित यो अस्पताल अहिले एसपीएमईआर समूहलाई सुम्पिनुको अर्थ स्पष्ट छ, नेताका नाममा खुलेका संस्था पनि जब जिम्मेवारीको सट्टा स्वार्थ र लापरवाहीको शिकार बन्छन्, तब तिनलाई निजी हातमा बुझाउनु पर्ने बाध्यता आउँछ।
राज्यको अनुदान र नेताको नाम दुवै प्रयोग गरेर खोलिएको संस्थालाई अकुशल व्यवस्थापनले भाडामा जान बाध्य बनाएको छ।








