सुर्खेत– कर्णाली प्रदेश अस्पतालमा रहेको सिटी स्क्यान मेसिन विग्रिएको दुई महिनाभन्दा बढी भइसक्दा समेत मर्मत नहुनु बिरामीका लागि समस्या बनेको छ। गत चैत ८ गतेदेखि सेवा अवरुद्ध हुँदा बिरामीहरू निजी अस्पताल जान बाध्य भएका छन्।
प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल धाउनु परिरहेको छ। सुर्खेतस्थित कर्णाली केयर र देउती अस्पतालमा मात्र सिटी स्क्यान सेवा उपलब्ध भएकोले धेरै बिरामी आर्थिक भारमा परेका छन्। सरकारी अस्पतालमा सेवा सस्तोमा पाइने भए पनि विकल्प नहुँदा उनीहरू निजीमा जानुपर्ने बाध्यता छ।

कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार मेसिन मर्मतका लागि आवश्यक सामग्री चीनबाट मगाइएको हो। “सामग्री आइपुगेको छ, अब आउने शुक्रबारबाट सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आउने छ,” उनले भने।








