काभ्रेपलाञ्चोक- नेपालमा आपतकालीन स्वास्थ्य पूर्वाधार सुदृढ गर्न एक महत्वपूर्ण प्रयास स्वरूप धुलिखेल अस्पतालमा अत्याधुनिक ट्रमा एन्ड इमर्जेन्सी सेन्टर निर्माण हुने भएको छ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)बीच भएको सहकार्यमा जापान सरकारले ५७ करोड ३० लाख येन (झन्डै ५० करोड नेपाली रुपैयाँ) बराबरको थप अनुदान दिनेछ।
जेठ २ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका उपविदेशमन्त्री इकुइना अकिकोबीच सो अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो।

यसअघि सन् २०२३ मा नै ३ अर्ब २९६ करोड येन बराबरको अनुदान सम्झौता भइसकेको थियो, तर निर्माण खर्चमा वृद्धि र नयाँ आवश्यकताका कारण जापानले थप सहयोग गरेको हो।
धुलिखेल अस्पतालमा बन्ने १०० शय्याको ट्रमा सेन्टरले दुर्घटना, स्ट्रोक, मुटु र अन्य गम्भीर रोगका बिरामीका लागि आवश्यक सेवा दिनेछ। ट्राफिक जाम, सडक दुर्घटना र नसर्ने रोगको चाप बढ्दै गएकाले यस्तो सुविधा अपरिहार्य भएको जनाइएको छ।

अरनिको र बीपी राजमार्ग जस्ता व्यस्त राजमार्गको संगमस्थलमा बन्ने यो केन्द्रले गम्भीर घाइतेलाई तुरुन्त उपचार दिन सक्नेछ, जसले काठमाडौंसम्म लैजानुपर्ने बाध्यताको अन्त्य गर्नेछ।
नयाँ केन्द्रमा आईसीयू, एचडीयू, अपरेशन थिएटर, ल्याब, फार्मेसी, फोहर व्यवस्थापनदेखि पार्किङसम्मको पूर्वाधार रहनेछ। तीन बेसमेन्टसहितको पाँच तले भवन भूकम्पप्रतिरोधी हुने र आकस्मिक संकटमा प्रयोग गर्न सकिने संरचनासमेत रहने जनाइएको छ।
चिकित्सकहरूका अनुसार दुर्घटनापछिको ‘गोल्डेन आवर’ अर्थात् ६ घण्टाभित्र उपचार सम्भव भएसम्म बिरामीको जीवन जोगिन सक्ने सम्भावना धेरै हुन्छ। यही अवधिमा सेवा दिन ट्रमा सेन्टर निर्णायक बन्ने विश्वास गरिएको छ।







