कैलाली- धनगढीमा फार्मेसीहरूको आडमा अवैध रूपमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन भइरहेको खुलेको छ। सेती प्रादेशिक अस्पताल आसपासका दर्जनौँ फार्मेसीहरूले न त अनुमति लिएका छन्, न त दर्ता प्रक्रियामा सहभागी भएका छन्। स्वास्थ्य सेवा ऐन, २०७६ ले स्पष्ट रूपमा अस्पताल वरपर तीन सय मिटरभित्र निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने भनेको छ। तर ऐनको उल्लंघन गर्दै कैयौँ फार्मेसी, क्लिनिक र प्रयोगशालाहरू खुलेका छन्।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा गरिएको पछिल्लो अनुगमनमा १६ वटा स्वास्थ्य संस्था अनियमित रूपमा सञ्चालनमा रहेको भेटिएको हो।
विशेषज्ञ चिकित्सकको नाममा सेवा दिँदै आएका यस्ता फार्मेसीमध्ये विसेक फार्मेसी, विमला मेडिकल हल र शुभारम्भ फार्मेसीले बिना अनुमतिपत्र विशेषज्ञ सेवा सञ्चालन गरिरहेको खुलेको छ। विमला मेडिकल हलले त मासिक रूपमा पाटन अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डा. अनन्त अधिकारी र नाक-कान-घाँटी विशेषज्ञ डा. ज्ञानराज अर्याललाई बोलाउने गरेको पाइयो।

शुभारम्भ फार्मेसीले दर्ता नहुँदै आरम्भ प्याथोलोजी प्रयोगशालासमेत सञ्चालन गरिरहेको देखिएको छ।
स्वास्थ्य कार्यालय, कैलालीले दर्ता/नविकरणको सूचना जारी गरे पनि अधिकांश संस्थाहरू त्यसको पालना गर्न नसकेको जनाएको छ। प्रदेश सरकारअन्तर्गतको नियामक निकाय, स्थानीय तह र प्रशासनले यस्ता अवैध क्लिनिक तथा सेवा प्रदायकहरूको नियमनमा चासो नदिँदा सर्वसाधारणको स्वास्थ्य सुरक्षा खतरामा परेको विज्ञहरूको चिन्ता छ।








