काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘आरोग्य जीवन’ स्वर्णिम योजना अन्तर्गत विभिन्न वडामा योग शिविर सञ्चालन गर्दै आएको छ। शारीरिक अवस्था र रोगअनुसार योग अभ्यासलाई प्रोत्साहन गर्दै स्वास्थ्योपचारको आवश्यकता घटाउने लक्ष्य राखिएको छ।
महानगरको स्वास्थ्य विभागका अनुसार प्रत्येक वडामा पाँच दिनसम्म योग शिविर सञ्चालन गरिन्छ। पहिलो शिविर वैशाख १४ मा काठमाडौं–१४ बाट सुरु भएको थियो। दोस्रो र तेस्रो शिविर क्रमशः काठमाडौं–१२ र काठमाडौं–१५ मा सम्पन्न भइसकेका छन्। हालै धरहरा परिसरमा सम्पन्न शिविरपश्चात आगामी शिविर काठमाडौं–३१ र २३ मा सञ्चालन हुने जनाइएको छ।
शिविरको पाँचौं अर्थात् अन्तिम दिन सहभागीहरूको रक्तचाप र मधुमेह परीक्षण गरी निःशुल्क शक्तिवर्द्धक औषधिहरू जस्तै त्रिफला चूर्ण, अश्वगन्धा, च्यवनप्रास, आमलकी र महानारायण तेल वितरण गरिन्छ। वरिष्ठ वैद्य पार्वती रावलका अनुसार यी औषधिहरूले शारीरिक बल वृद्धिमा सहयोग गर्छन्।

वैद्य मञ्जुश्री ठाकुरले शिविरमा परीक्षण गरिएका धेरै व्यक्तिमा उच्च रक्तचाप देखिएको जानकारी दिइन्। परीक्षणपछि डाक्टरहरूले आहार, विहार, आचार र विचारसँग सम्बन्धित रोगबारे परामर्श दिने व्यवस्था मिलाइएको छ।
महानगरले वडाहरूमा योग प्रशिक्षक तयारी, व्यायाम प्रशिक्षकको परिचालन तथा खुला स्थानमा शारीरिक अभ्यास प्रवर्द्धन लगायत कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। उद्देश्य भनेको उपचारभन्दा पहिले नै निरोगी जीवनशैलीलाई आत्मसात् गराउनु हो।
यस अभियानमार्फत नागरिकहरूलाई शारीरिक, मानसिक र आर्थिक क्षतिबाट जोगाउने प्रयास भइरहेको काठमाडौं महानगरले जनाएको छ।








