काठमाडाैं- साउदी अरेबियामा विश्वकै पहिलो यस्ताे क्लिनिकको सुरुवात गरिएको छ, जहाँ बिरामीको जाँच र उपचारको जिम्मेवारी अब मानव डाक्टरले होइन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित चिकित्सकले लिइरहेका छन्।
चीनको स्टार्टअप कम्पनी ‘Sini AI’ ले अल-अहसा क्षेत्रमा यस्तो क्लिनिक सञ्चालनमा ल्याएको हो, जुन हाल परीक्षण चरणमा छ। यो क्लिनिक अलमूसा हेल्थ ग्रुप सँगको सहकार्यमा खोलिएको हो।

ग्रामीण तथा दुर्गम क्षेत्रमा डाक्टरको अभाव एक गम्भीर समस्या हो। यस्तो अवस्थामा एआई डाक्टरले गाउँघरमै सेवा पुर्याउन सक्ने सम्भावना देखिएको छ। क्लिनिकमा ‘डॉ. हुआ’ नामक एआई प्रणालीले बिरामीसँग संवाद गरेर लक्षण बुझ्छ, परीक्षणको नतिजा विश्लेषण गर्छ र उपचार योजना तयार पार्छ।
अहिले यो प्रणालीले दम, खोकी, घाँटी दुख्ने जस्ता श्वासप्रश्वाससम्बन्धी करिब ३० रोगको उपचार गर्न सक्दछ। कम्पनीले आगामी वर्ष पेट र छालासम्बन्धी रोग पनि समेट्ने तयारी गरेको छ।

यो क्लिनिकको उद्देश्य मानव डाक्टरको स्थान लिनु होइन, उनीहरूलाई सहयोग पुर्याउनु हो। अन्तिम उपचार योजना मानव चिकित्सकले नै अनुमोदन गर्छन्। आकस्मिक अवस्थामा चाहिँ डाक्टरहरू पनि उपस्थित हुन्छन्।
Sini AI ले यो क्लिनिकलाई पहिलो चरण मानेको छ। कम्पनीले साउदी अरेबियाका अन्य क्षेत्रहरूमा पनि यस्ता क्लिनिक विस्तार गर्ने योजना बनाएको छ। चीनमा यसले ८०० भन्दा बढी अस्पताल र क्लिनिकमा सेवा दिइसकेको छ।
सस्तो, सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो प्रयोग सफल भएमा भविष्यमा एआईले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने माध्यमको रूपमा कार्य गर्न सक्ने देखिएको छ।







