म्याग्दी — अन्नपूर्ण गाउँपालिका–१, दोबामा करिब पाँच करोड रुपैयाँ खर्चेर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन दुई वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन।
संघीय सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले पाँच शय्या क्षमताको अस्पताल भवन निर्माण गरेको थियो। तर, जनशक्ति र स्वास्थ्य उपकरणको अभाव, पहुँचको समस्या र भवनसम्म पुग्ने सडकको जिर्ण अवस्थाका कारण अस्पताल सञ्चालनमा ल्याउन नसकिएको हो।
अन्नपूर्ण–१ का वडाध्यक्ष दिलीप गर्बुजाका अनुसार गाउँपालिकाका अन्य वडामा सरकारी मापदण्डअनुसार अस्पतालका लागि आवश्यक जग्गा उपलब्ध नहुँदा दोबामा भवन निर्माण गरिएको हो। “भवन प्रयोगमा ल्याउन सबैभन्दा पहिले बेनी–जोमसोम सडकखण्डको भिरकाटेदेखि दोबासम्मको सडक स्तरोन्नति आवश्यक छ”, उनले भने, “यसका लागि संघीय र प्रदेश सरकारसँग पहल गरिरहेका छौँ।”

करिब ५ करोड १२ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण गरिएको सो अस्पताल भवनमा आकस्मिक सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा कक्ष, प्रयोगशाला, औषधि भण्डारण कक्ष, उपचारका छुट्टाछुट्टै कोठा र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेका छन्।
अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, फर्निचर र घेराबारको व्यवस्था गर्न अझै ठूलो बजेट आवश्यक पर्ने जनाइएको छ। दोबाका स्थानीयले अस्पतालका लागि १२ रोपनी सात आना दुई दाम जग्गा निःशुल्क उपलब्ध गराएका थिए।








