काठमाडौं– नेपालको अग्रणी पशु औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी केभीएनपी कोरियाबीच नेपालमै कोरियन प्रविधिको प्रयोग गरी पशु औषधि उत्पादन गर्ने प्राविधिक सम्झौता भएको छ।
आज नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र पशु सेवा विभागका सह-सचिव डा. सजिना मानन्धरको उपस्थितिमा केपीएलका अध्यक्ष हेमराज बडाल र केभीएनपी कोरियाका प्रतिनिधि हानी स्वङबीच सम्झौतामा हस्ताक्षर भएको हो।

यस सम्झौतासँगै केपीएलले कोरियन कम्पनी केभीएनपीको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गरी नेपालमै उच्च गुणस्तरका पशु औषधिहरू उत्पादन गर्ने भएको छ। यसले पशुपालन क्षेत्रमा आत्मनिर्भरता बढाउने, आयात प्रतिस्थापन गर्ने र नेपाली किसानलाई गुणस्तरीय औषधि सुलभ मूल्यमा उपलब्ध गराउने विश्वास गरिएको छ।

कम्पनीका प्राविधिक प्रमुख विवेक सिंह महतका अनुसार, केभीएनपीले केपीएललाई अनुसन्धान तथा विकासका क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको थियो। सन् २०२५ जनवरी ८ मा केपीएलको क्वालिटी अडिट सफल भएपछि यो प्राविधिक साझेदारी अघि बढाइएको हो।
सम्झौतापछि केपीएल अध्यक्ष हेमराज बडालले भने, “यो सहकार्यले नेपालमै अन्तर्राष्ट्रिय स्तरका पशु औषधि उत्पादन गर्ने हाम्रो क्षमतालाई अभिवृद्धि गर्नुका साथै पशुधनको स्वास्थ्यमा टेवा पुर्याउनेछ।” उनले यसलाई कम्पनीको लागि गौरवको विषयसमेत भने।

केभीएनपीका हानी स्वङले पनि सहकार्यप्रति खुसी व्यक्त गर्दै भने, “हामीले नेपालको पशु औषधि बजारमा ठूलो सम्भावना देखेका छौं। कान्तिपुरसँगको सहकार्यबाट उत्कृष्ट नतिजा आउनेमा हामी विश्वस्त छौं।”
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा अवस्थित कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले हाल २६ प्रकारका पशु आहार पूरक उत्पादन र ७० भन्दा बढी एलोपेथिक औषधिको विक्रि अनुज्ञा प्राप्त गरिसकेको छ। कम्पनीको दुईवटा अत्याधुनिक उत्पादन प्लान्ट सञ्चालनमा छन्, जसमा एक २०२४ अगस्टदेखि औषधि उत्पादन गर्दैछ भने अर्को २०२१ नोभेम्बरदेखि पशु आहार पूरक उत्पादन गर्दै आएको छ।
सन् १९८८ मा स्थापना भएको केभीएनपी कोरिया विश्वका ३९ देशमा भेटेरिनरी खोप, औषधि, पूरक र कीटाणुनाशक निर्यात गर्ने कम्पनी हो। यसले बायर कोरियाबाट खोप इकाई अधिग्रहण गरी अत्याधुनिक जैविक उत्पादन सुविधा स्थापना गरेको हो।
कान्तिपुर फर्मास्युटिकल्सले हालै सर्वसाधारणका लागि आईपीओ ल्याउने घोषणा समेत गरिसकेको छ।







