
हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१०, राप्ती रोडका केही निजी मेडिकलहरू मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। शुक्रबार गरिएको जिल्लास्तरीय अनुगमनमा सरसफाइको अभाव, दर्ता तथा नवीकरण नहुँनु, नागरिक बडापत्र नहुनु र औषधीको बिल नदिनेजस्ता कैफियत भेटिएको हो।
अनुगमन गरिएको मेडिकलमा हेटौँडा फिजियोथेरापी सेन्टर, न्यु त्रिवेणी मेडिकल सेन्टर, गुराँस पोलिक्लिनिक र हँस डेन्टल क्लिनिक रहेका छन्। अनुगमन टोलीले सुधारका लागि सुझाव दिएको छ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले नियमित अनुगमन गरिने जानकारी दिँदै संरचना व्यवस्थापन र सरसफाइमा सुधार आवश्यक रहेको बताए।
मेडिकल सञ्चालकहरूले सडक विस्तार अन्योल हुँदा स्थायी संरचना बनाउन नसकेको बताएका छन्। बागमती प्रदेश सरकारले एक वर्ष रोकिएको दर्ता प्रक्रिया अहिले अनलाइनमार्फत पुनः सुरु गरेको छ। हालसम्म ३७ मेडिकल दर्ता भइसकेका छन् भने ९ प्रक्रिया अन्तर्गत छन्।



