
काठमाडाैं- देशभर अस्थायी परिवार नियोजनका साधनहरू जस्तै कन्डम, पिल्स, तीन महिने सङ्गिनी सुई, कपर–टी, नरप्लान्टको अभाव देखिएको छ। समयमै खरिद प्रक्रिया सम्पन्न हुन नसकेका कारण यस्तो समस्या उत्पन्न भएको हो।
स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार विभागको भण्डारण केन्द्रमा यी सामग्रीहरू अहिले उपलब्ध छैनन्। सरकारले निःशुल्क वितरण गर्दै आएको यस्ता साधनहरू देशका विभिन्न स्थानमा अभाव हुन थालेका छन्।
डा. लालले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बाट प्राप्त सहयोगमा आएको कटौती प्रमुख कारण भएको बताएका छन्। उनका अनुसार अस्थायी साधनको लागि नेपाल दातृ निकायमा निर्भर रहँदै आएको छ, जसमा यूएसएआईडी प्रमुख स्रोत हो।
स्वास्थ्य विभागका अनुसार नेपाललाई हरेक वर्ष करिब ४० करोड रुपैयाँ बराबरका अस्थायी परिवार नियोजन साधन आवश्यक पर्छ। सबैभन्दा बढी खपत हुने सामग्री कन्डम हो, जसको वार्षिक खपत २ करोड ४८ लाख छ।



