
काठमाडौँ— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत आवासीय चिकित्सकलाई प्रदर्शन स्थगन गरी तुरुन्त अस्पताल फर्कन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सेवा बहाली गर्दै बिरामीको उपचारमा फर्कन अपिल गरेका हुन्।
वैशाख १६ गते शिक्षा मन्त्री रघुजी पन्त र एशोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा प्रतिनिधिमण्डलबीच भएको छलफलमा डा. कार्कीले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले तोकेको मासिक ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता आवासीय चिकित्सकलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।
तर, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले उक्त रकम पर्याप्त नरहेको भन्दै आपत्ति जनाएका छन्। उनले सार्वजनिक शिक्षण संस्थामा आवासीय चिकित्सकले पाउने बराबरको (स्वास्थ्य सेवा आठौँ तहअनुसारको) भत्ता दिनुपर्ने माग राखेका छन्।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको अगुवाइमा आवासीय चिकित्सकहरू विगत केही समयदेखि आफ्ना हकहितका लागि आन्दोलनरत छन्। मन्त्रालयले सबै पक्षसँग सहकार्य गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै चिकित्सकहरूलाई सेवा बहालीमा फर्किन पुनः अनुरोध गरेको छ।



