काठमाडाैं- धरान उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपी प्रतिष्ठान) बीच जग्गा प्रयोगसम्बन्धी विवाद चर्किएको छ । प्रतिष्ठानले आफ्नो ‘ग्रीन बेल्ट’ क्षेत्रमा धरान उपमहानगरपालिकाले संरचना निर्माण गर्न खोजेको भन्दै कडा आपत्ति जनाएको छ ।
प्रतिष्ठानका अनुसार, मूलगेट पश्चिमतर्फको बाटोछेउ रहेको हरियाली क्षेत्र (ग्रीन बेल्ट) मा मेयर हर्क साम्पाङको नेतृत्वमा उपमहानगरले संरचना बनाउन चाहेको छ। प्रतिष्ठानले सार्वजनिक अपिलमार्फत यसबारे गम्भीर असहमति जनाएको छ ।
बीपी प्रतिष्ठानका रजिस्ट्रार प्राडा सूर्य प्रसाद संग्रौलाद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ कि अस्पताल क्षेत्रको हरियाली संरक्षण, भविष्यका निर्माण योजनाहरू, विपद् व्यवस्थापन तथा खुला स्थान आवश्यकताका कारण सो क्षेत्रमा हालसम्म कुनै संरचना निर्माण गरिएको छैन ।
प्रतिष्ठानका अनुसार, मातृशिशु स्याहार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ, जसले सुत्केरी आमा र नवजात शिशुका लागि संवेदनशील उपचार सेवा प्रदान गर्नेछ। साथै, नेपाल सरकारकै पूर्ण अनुदानमा २०० शैय्याको मुटुरोग तथा २०० शैय्याको क्यान्सर उपचार केन्द्रको संरचना निर्माण योजना पारित भइसकेको छ। यस्तो अवस्थामा, अस्पताल परिसर वरपर खुला, सफा र हरित वातावरण रहन अत्यावश्यक रहेको प्रतिष्ठानको तर्क छ ।

मेयर साम्पाङको अडानः विकास रोक्न पाइँदैन
तर, मेयर हर्क साम्पाङ भने प्रतिष्ठानको दाबीप्रति असन्तुष्ट देखिन्छन् । उनी उपमहानगरपालिकाको योजनाअनुसार तरकारी बजार निर्माण गर्न प्रतिष्ठानको सोही क्षेत्रमा पुगेका थिए । उनले प्रतिष्ठानका कर्मचारीहरूसँग भनाभन गर्दै आफू जनप्रतिनिधि भएकाले “सामान्य कर्मचारीहरूसँग बहस नगर्ने” बताउँदै स्वास्थ्यमन्त्रीसँग प्रत्यक्ष कुरा गर्ने चेतावनी दिए ।
मेयर साम्पाङको अडान छ कि नगर विकासका लागि आवश्यक संरचना निर्माणलाई प्रतिष्ठानले अनावश्यक रूपमा रोकिरहेको छ। उनले कानूनी उपचार खोज्न प्रतिष्ठानलाई चुनौती दिएका छन्।
यही विषयलाई लिएर प्रतिष्ठानले उपमहानगरपालिकासँग फागुन १४ गते टेलिफोन संवादमार्फत छलफल गरी सहमतिपछि मात्र कुनै पनि संरचना निर्माण गर्न अनुरोध गरेको छ । प्रतिष्ठानले पत्रमार्फत पनि यसबारे जानकारी गराइसकेको दाबी गरेको छ ।










