

एजेन्सी- अमेरिकाको विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणाप्रति विश्व स्वास्थ्य संगठनले दुःख व्यक्त गरेको छ। अमेरिकी नागरिकसहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न विश्व स्वास्थ्य संगठनकोे महत्वपूर्ण भूमिका रहेको छ।
रोगका मूल कारणहरूको सम्बोधन, सुदृढ स्वास्थ्य प्रणाली निर्माण र प्रायः अन्य निकाय जान नसक्ने जोखिमयुक्त स्थानहरूमा महामारी तथा प्रकोपजस्ता स्वास्थ्य आपत्कालहरूको पहिचान, रोकथाम र प्रतिकार्यमा विश्व स्वास्थ्य संगठनले अर्थपूर्ण योगदान दिँदै आएको डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको संस्थापक सदस्य बनेको अमेरिकाले त्यसयता १९३ अन्य सदस्य राष्ट्रसँग सहकार्य गर्दै संगठनको कामको तर्जुमा र सञ्चालनमा योगदान दिँदै आएको छ। विश्व स्वास्थ्य सभामा र कार्यकारी बोर्डमा आफ्नो सक्रिय सहभागितामार्फत् सात दशकभन्दा लामो सहकार्यको परिणामस्वरूप, विश्व स्वास्थ्य संगठन र अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् र स्वास्थ्य जोखिमहरुबाट अमेरिकी नागरिकको साथै विश्वभरका मानिसहरुको सुरक्षा प्रदान गरेका छन् ।
अमेरिका र अन्य सदस्य राष्ट्रहरूको सहभागितासँगै, विश्व स्वास्थ्य संगठनले गत ७ वर्षमा आफ्नो इतिहासकै महत्वकांक्षी सुधार कार्यक्रम कार्यान्वयन गरेको छ, जसले हाम्रो उत्तरदायित्व, लागत प्रभावकारिता र राष्ट्रहरूको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव लगायतमा रूपान्तरण ल्याएको छ ।
संयुक्त राज्य अमेरिका आफ्नो निर्णयबारे पुनर्विचार गर्नेमा आशावादी रहेको र विश्वभरका करोडौँ मानिसहरूको सुस्वास्थ्य र आरोग्यताका लागि संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन बीचको साझेदारीलाई कायम राख्न सकारात्मक संवाद हुने अपेक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ ।



