
काठमाडौं- हृदयघात एक आकस्मिक दुर्घटना हो । मुटुको कार्यमा कुनै पनि अवरोध वा रोकावट सिर्जना हुँदा हृदयघात हुने गर्छ । दैनिक खानपान र जीवनशैलीका कारण वर्तमान समयमा मानिसमा हृदयघातको समस्या बढ्दै गइरहेको छ । हृदयघात ४० वर्षमाथिका मानिसमा देखिने भएता पनि अहिलेको समयमा सबै व्यक्तिमा देखिने गरेको छ ।
अहिले पनि समाजमा कसैको आकस्मिक मृत्यु भएको खण्डमा मृत्युको कारण हृदयघात भन्ने गरेको पाइन्छ । तर, हृदयघात कसरी हुन्छ । यसको लक्षण कस्तो हुन्छ भनेर धेरै मानिसलाई थाहा नहुन सक्छ । समयमै यसको लक्षण थाहा पाएमा यसबाट हुने मृत्युबाट बच्न सकिन्छ ।
इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. कुनाल विक्रम साहका अनुसार मुटुमा रक्तसञ्चार गर्ने धमनीले मुटुको काम गर्नका लागि आवश्यक पर्ने कुराहरू अवरोध हुन गई मुटुको मासु मर्छ । त्यसपछि हामीलाई छाती दुख्ने समस्या हुन्छ । यो छाती दुख्ने समस्या २० मिनेटभन्दा बढी हुन्छ । जुन बिरामीले महशुस गर्न सक्छ । कहिलेकाहिँ काँध दुखेको जस्तो हुने वा पाखुरा दुखेको जस्तो पनि हुन्छ । यस्तो लक्षण देखिँदा हृदयघात भएको हुन्छ । जुन मुटु रोगको एउटा लक्षण हो ।
साहका अनुसार हृदयघात भएका बिरामीले जुन बेलादेखि लक्षण देखिन्छ त्यही बेलामा नजिकैको अस्पतालमा गएर देखाउनुपर्ने हुन्छ । यसमा जति छिटो टालिएको मुटुको नलि खोल्न सकियो त्यति छिटो रोग निको पार्न वा बिरामीलाई बचाउन सकिन्छ । छाती हृदयघात बाहेक अन्य कारणले पनि दुख्न सक्छ ।
छाती दुखाई बाहेक अचानक बेहोस हुने, अचानक स्या-स्या हुने जस्ता लक्षण पनि देखिन सक्छ । यदि यसको कुनै पनि लक्षण देखिएको खण्डमा तत्काल अस्पताल गएर उपचार गराउनुपर्छ ।



