
कैलाली- कैलालीको अत्तरियामा रहेको पदमा अस्पतालले मनपरी शुल्क लिएको आरोप लागेको छ । अस्पतालले प्रोसिडर चार्जका नाममा मनपरी शुल्क लिने गरेको गुनासो गरिएको हो ।
नर्सिङ चार्ज र डाक्टरको राउन्ड चार्ज लिएर पनि पद्मा अस्पतालले बिरामीबाट प्रोसिडर चार्ज भन्दै अतिरिक्त रकम लिने गरेको पाइएको हो ।
अस्पतालहरुले कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने अवस्थामा प्रोसिडर चार्ज लिने गरेका छन् तर पद्यमा अस्पतालले भने बिरामीको शल्यक्रिया नगरेरै उक्त शुल्क लिने गरेको गुनासो गरिएको छ ।
एक दिन अस्पताल भर्ना भएर थप उपचारका लागि भारत गए पनि पद्यमा अस्पतालले प्रोसिडर चार्ज भन्दै १० हजार रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको छ । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका गोदावरी नगरपालिका–१ बिजौराका हरिश चौधरीबाट पनि १० हजार शुल्क लिइएको छ । दुर्घटनामा परेर भाइको खुट्टा भाचिएको बताउँदै उनले शल्यक्रिया गर्न डाक्टरको चार्ज मात्र ९० हजार रुपैयाँ लिन खोजेपछि थप उपचारका लागि भारत लगिएको बताइएको छ ।
उनले त्यो शुल्कबारे बुझ्दा डाक्टरले चौधरीको घाउमा पट्टी बाँधेको, ड्रेसिङ गरेको र स्टीच गरे वापतको भएको जानकारी गराएको बताए । जबकी अस्पतालले चौधरीबाट भर्नां, नर्सिङ, बेड तथा डाक्टरको राउन्ड चार्ज भनेर तीन हजार रुपैयाँ लिइसकेको थियो ।
उता, अस्पतालले भने प्रोसिडर चार्जका नाममा जथाभावी असुली भइरहेको आरोपमा सत्यता नभएको दाबी गरेको छ । अस्पतालका प्रमुख डाक्टर नरबहादुर मौनीले अस्पतालमा बिरामी आइसकेपछि ड्रेसिङ, टाका लगाएपछि लिइने शुल्कलाई प्रोसिडर चार्ज भनिने गरेको बताए ।


