

डडेल्धुरा- लक्षण देखिएपछि निको हुने औषधी नै नभएको रेविज रोगविरुद्धको भ्याक्सिन लगाउन डडेल्धुरामा दैनिक आठ जनासम्म पुग्ने गरेका छन । डडेल्धुरा अस्पतालको तथ्यांक अनुसार प्रायः गरी कुकुरले टोकेपछि रेविज रोगविरुद्धको भ्याक्सिन लगाउन दैनिक ५–८ जनासम्म पुग्ने गरेका छन ।
१८ औँ विश्व रेविज दिवसका अवसरमा शुक्रबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको रेविज रोगको जानकारी कार्यक्रममा डडेल्धुरा अस्पतालका मेडिकल अधिकृत डा. संजिव अधिकारीले यस्तो जानकारी दिए ।
उनका अनुसार रेविस विरुद्धको भ्याक्सिन लगाउनेमा बढी बालबालिका छन् । घर पालुवा, समुदाय वा भुस्याह कुकुरले टोकेपछि रेविज विरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन् । रेविज रोगबाट बच्ने भ्याक्सिन मात्रै एक प्रभावकारी माध्यम भएकाले भ्याक्सिन लगाउन आउनेको संख्या बढेको उनको भनाई छ । अस्पतालको तथ्यांक अनुसार गत वर्ष र यस वर्षको हाल सम्म रेविज रोगका कारण मृत्यु भईसकेको भने छैन ।


