काठमाडौँ । आन्दोलनरत डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन नेपाल र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूबीच आठबुँदे सहमति भएको छ। विगतका सम्झौता कार्यान्वयन, संरचनागत तथा कानुनी सुधार र प्रतिनिधित्वसम्बन्धी समस्या समाधानको माग राख्दै आन्दोलनमा उत्रिएको एसोसिएसनले सहमतिसँगै रिले अनशन अन्त्य गर्ने भएको छ।
सहमतिअनुसार डेन्टलको नियमावलीमा रहेको निर्वाचनको क्लस्टरलाई छुट्टै व्यवस्था गरी निर्वाचनमार्फत नै प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ। यस्तै, २०८२ माघ ४ गते भएको सहमति कार्यान्वयन, परिषद् सदस्य थपघट तथा भत्तासम्बन्धी विषय आगामी पहिलो मन्त्रिपरिषद् बैठकमा लैजाने सहमति भएको छ।
एसोसिएसनले कात्तिक २७ गते स्वास्थ्य मन्त्रालयमा पत्र बुझाउँदै नेपाल स्वास्थ्य व्यवसायी परिषद्को संरचनागत, कानुनी तथा प्रतिनिधित्वसम्बन्धी समस्या समाधान गर्न माग गरेको थियो। विगतका सहमति कार्यान्वयन नभएको भन्दै एसोसिएसनले मंसिर ७ गतेदेखि आन्दोलनका कार्यक्रम सुरु गरेको थियो।

आन्दोलन चर्किएपछि स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत वार्ता समिति गठन गरेको थियो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिर अधिकारी र मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल सदस्य रहेका थिए।
आठबुँदे सहमतिसँगै आन्दोलनरत पक्षले आजैदेखि रिले अनशन अन्त्य गर्ने र लगाइएको तालाबन्दी खोल्ने निर्णय गरेको छ। तर सहमति कार्यान्वयनमा सुनिश्चितता नभए थप कडा संघर्षका कार्यक्रमसहित आमरण अनशनसम्म बस्न बाध्य हुने एसोसिएसनले चेतावनी दिएको छ।








