काठमाडौं । स्तन क्यान्सर समयमै पत्ता लगाउन परीक्षण महत्वपूर्ण मानिन्छ। तर हरेक वर्ष हजारौँ म्यामोग्राम परीक्षणको रिपोर्ट अध्ययन गर्नुपर्ने रेडियोलोजिस्टको कार्यभारका कारण शंकास्पद अवस्था पहिचान र उपचार प्रक्रिया अघि बढाउन समय लाग्न सक्छ। यस्तो अवस्थामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट कुन महिलाको म्यामोग्राम पहिले अध्ययन गर्ने भन्ने प्राथमिकता निर्धारण गर्न सकिने देखिएको छ।
एआईले रेडियोलोजिस्टलाई विस्थापित गर्ने नभई परीक्षणका रिपोर्टलाई जोखिमका आधारमा वर्गीकरण गर्ने काम गर्छ। म्यामोग्राम परीक्षणपछि एआई प्रणालीले क्यान्सरको सम्भावित जोखिम मूल्यांकन गरी उच्च जोखिम देखिएका रिपोर्टलाई तत्काल रेडियोलोजिस्टसमक्ष पठाउन सक्छ। कम जोखिम देखिएका रिपोर्टलाई भने पछि अध्ययन गर्न वा थप परीक्षण आवश्यक नपर्ने अवस्थामा राख्न सकिन्छ।
३१ हजारभन्दा बढी महिलामा गरिएको एक ठूलो अध्ययनले म्यामोग्राम परीक्षणमा एआईको प्रयोग गर्दा रेडियोलोजिस्टको कामको भार ६३.६ प्रतिशतले घटेको र क्यान्सर पहिचान दर १५.२ प्रतिशतले बढेको देखाएको छ। अर्को एक अनियमित नियन्त्रित अध्ययनमा उच्च जोखिममा रहेका बिरामीलाई थप निदानात्मक इमेजिङ र बायोप्सीका लागि पठाउने समय पनि घटेको पाइएको थियो। यसले अन्य बिरामीको उपचार प्रक्रियामा भने ढिलाइ नगरेको अध्ययनको निष्कर्ष छ।

तर एआई सधैँ सही हुन्छ भन्ने छैन। मेडिकल इमेजिङमा एआईले कहिलेकाहीँ वास्तविकताभन्दा फरक वा गलत निष्कर्ष दिन सक्छ। यसले स्तनमा नभएको असामान्य संरचना रहेको देखाउन सक्छ भने वास्तविक क्यान्सरका सूक्ष्म संकेत पहिचान गर्न पनि असफल हुन सक्छ। विशेषगरी स्तनको तन्तु बाक्लो भएका महिलामा वा क्यान्सरका संकेत निकै सूक्ष्म हुँदा यस्तो जोखिम बढी हुन सक्छ।
स्तनको संरचनामा असामान्य परिवर्तन वा क्यान्सरको प्रारम्भिक संकेत हुन सक्ने साना क्याल्सियमका कण पहिचान गर्न एआई चुक्न सक्छ। अर्कोतर्फ, सामान्य परिवर्तनलाई पनि क्यान्सरको सम्भावित संकेत ठानेर थप परीक्षण गर्नुपर्ने अवस्था सिर्जना गर्न सक्छ। यसले थप परीक्षणका लागि अस्पताल बोलाइने महिलाको संख्या करिब १५ प्रतिशतसम्म बढाउन सक्छ।
एआईको कार्यक्षमता यसको जोखिम मूल्यांकन गर्ने मापदण्डमा पनि निर्भर हुन्छ। नियमित म्यामोग्राममध्ये ७५ प्रतिशतलाई स्वतः कम जोखिमको भनेर छुट्याउने उद्देश्यले मापदण्ड निर्धारण गर्दा ठूलो जनसंख्यामा सयभन्दा बढी क्यान्सरका घटना छुट्न सक्ने देखिएको छ। छुट्ने घटना कम गर्न मापदण्डलाई कडा बनाउँदा भने रेडियोलोजिस्टको कार्यभार घटाउने एआईको क्षमता पनि कम हुन्छ। एआईले मानिसले छुटाएका केही क्यान्सर पहिचान गर्न सक्छ भने मानिसले सजिलै देख्न सक्ने केही संकेत आफैँ छुटाउन पनि सक्छ। त्यसैले यसलाई अन्तिम निर्णयकर्ता बनाउन सुरक्षित हुँदैन।

एआईको प्रयोग सुरक्षित बनाउन चार तहको निगरानी आवश्यक मानिएको छ। पहिलो, एआईले कुनै परीक्षणको नतिजाबारे कम विश्वास देखाएमा वा जोखिमको अवस्था स्पष्ट नभएमा त्यसलाई स्वतः रेडियोलोजिस्टसमक्ष पठाउने व्यवस्था हुनुपर्छ। एआईको विश्लेषणमा अनिश्चितता देखिएका अवस्थामा मानव विशेषज्ञको मूल्यांकन जोड्दा नतिजा बढी विश्वसनीय हुन सक्छ।
दोस्रो, परीक्षणको रिपोर्ट अध्ययन गर्ने अन्तिम जिम्मेवारी चिकित्सककै हुनुपर्छ। दुई जना विशेषज्ञबाट रिपोर्ट अध्ययन गरिने प्रणालीमा रेडियोलोजिस्टले एआईको निष्कर्षलाई पनि पुनः जाँच गर्नुपर्छ। अध्ययनहरूले एआईको निष्कर्षलाई दोस्रो पटक परीक्षण गर्ने रेडियोलोजिस्टले त्यसमा भएका गल्ती सच्याउने सम्भावना बढी हुने देखाएका छन्।
तेस्रो, अस्पताल तथा इमेजिङ केन्द्रले प्रयोगमा रहेका एआई प्रणालीको कार्यक्षमता निरन्तर अनुगमन गर्नुपर्छ। सफ्टवेयर अपडेट, क्यामेराको क्यालिब्रेसनमा आएको परिवर्तन वा स्थानीय जनसंख्याको विशेषताका कारण एआईको शुद्धता घट्न सक्छ। यस्तो अवस्थामा गुणस्तर जाँच गर्ने प्रणालीले तत्काल चेतावनी दिने व्यवस्था आवश्यक हुन्छ।
चौथो, नियामक निकायको निगरानी पनि उत्तिकै महत्वपूर्ण छ। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) तथा राष्ट्रिय परीक्षण समितिजस्ता निकायले एआईको प्रयोगसम्बन्धी कडा मापदण्ड लागू गर्नुपर्ने हुन्छ। अस्पतालमा एआई प्रयोग गर्नुअघि र प्रयोगमा ल्याइसकेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले त्यससँग कसरी काम गरिरहेका छन् भन्ने वास्तविक प्रमाणसमेत आवश्यक हुन्छ।
एआई स्तन क्यान्सर परीक्षणमा रेडियोलोजिस्टको कार्यभार घटाउने र जोखिममा रहेका बिरामीलाई छिटो उपचार प्रक्रियामा पुर्याउने प्रभावकारी माध्यम बन्न सक्छ। तर यसलाई चिकित्सकको विकल्पका रूपमा नभई चिकित्सकलाई सहयोग गर्ने प्रविधिका रूपमा प्रयोग गर्नुपर्ने देखिन्छ। एआईले दिने गलत निष्कर्ष पहिचान गर्ने, परीक्षणको प्राथमिकता निर्धारण गर्ने र बिरामीको सुरक्षाको जिम्मेवारी भने मानव विशेषज्ञकै निगरानीमा रहनुपर्छ।







