

चितवन- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए ।
उनले भने , “अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विषेश ध्यान पु र्य ाउनु आग्रह गर्दछु ।” उनले स्वास्थसम्बन्धी पूर्वाधारको विकासमा पनि जोड दिए ।
“स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो ।,” उनले भने, “दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवम् प्रभावकारी नवीनतम प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्नेतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु ।”
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला क्यान्सर रोगबाट ग्रसित भई विदेश गएर उपचार गर्नुपरेकाले नेपालीहरूले नेपालमै यस रोगको उपचार गर्ने सुविधासम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गरेकाे स्मरण गर्दै राष्ट्रपति पौडेलले २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो क्यान्सर अस्पताल निर्माण भएको जानकारी दिए ।
राष्ट्रपति पौडेलले राष्ट्रियस्तरको यो अस्पताल हाल क्यान्सरका बिरामीहरुको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणमा अगाडि बढेको जानकारी पाउँदा आफूलाई खुशी लागेको बताए । उनले क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याई बिरामीको उपचारमा विशिष्टता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिए ।


