

काठमाडौं- देशभरका सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार हाल देशभरका जिल्लामा डेंगु संक्रमितको संख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको छ।
हालसम्म डेंगु रोगको संक्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ ।
पछिल्लो समय डेंगुले विकराल रुप लिएको छ । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । अहिले देशका ७७ वटै जिल्लामा यो रोग देखा परेको छ ।
डेंगुका धेरैजसो बिरामीमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने शरीरमा डाबरहरु आउने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने आदी लक्षणहरू देखा परेको चिकित्सकहरू बताउँछन् ।


