खोटाङ : खोटेहाङ गाउँपालिका–८, सिमपानीको डिहीगाउँ अदुवाबारीकी रमिला विश्वकर्माले स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिइन् तर घर फर्कन बोक्ने मान्छे पाइएनन् । जसकारण स्वास्थ्यकर्मीको टोलीले आमा र बच्चालाई घरसम्म पु-याउने निर्णय गरे । स्वास्थ्यकर्मीलाई केही जनप्रतिनिधिले पनि साथ दिएपछि स्ट्रेचरमा बोकेर रमिला र नवजात शिशुलाई घर पु-याइदिएको स्वास्थ्य चौकीले जनाएको छ ।
गाउँमा युवा नभएपछि खोटाङमा सुत्केरी महिला र बच्चालाई स्वास्थ्यकर्मीले नै बोकेर घर पु-याइदिएका हुन् । अहिले गाउँका अधिकांश युवा वैदेशिक रोजगारले सहर वा विदेश पुगेका छन् । गाउँमा बुढापाका र महिला मात्र बाँकी हुँदा स्वास्थ्य संस्थाबाट सुत्केरी महिला बोकेर घरसम्म ल्याउने युवाको अभाव छ ।

टुवा खोला नजिक पर्ने अदुवाबारीबाट स्वास्थ्य चौकी पुग्न उकालो तीन घण्टा हिँड्नु पर्छ । फर्कंदा भने ओरालो दुई घण्टामा पुगिन्छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले तीन घण्टा लगाएर रमिलालाई घरमा पु-याएर फर्किएको सिमपानी स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक नवराज राईले बताए । स्वास्थ्य चौकी सिमापानीमा सुत्केरी भएकी रमिलालाई वडाध्यक्ष चन्द्रबहादुर थापा, वडा सदस्य कमला राउत, स्वास्थ्य चौकीका प्रमुख राई, अहेब सविता पराजुली, अनमी ममता खत्री बस्नेत, बबिता राईलगायतले स्ट्रेचरमा बोकेर घरसम्म पु-याएको बताइएको छ ।
रमिलाको श्रीमान् मजदुरी गर्न दिल्ली पुगेका छन् । रमिला गर्भजाँचका लागि साउन २३ गते एक्लै स्वास्थ्य चौकी पुग्नुभएको थिइन् ।








