काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुका कार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर गरिएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यालयले आर्थिक बर्ष २०७५।०७६ को पशु वधशाला निर्माणमा अनियमितता गरेको तथा सोही आर्थिक वर्षको भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी कागजात मिलाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । भेडा खरिद तथा गोठ निर्माण कार्यका लागि ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँग सम्झौता भई गोठ निर्माण कार्यमा फिल्डमा नभएको कामलाई भएको भनी भुक्तानी दिइएको आरोप पत्रमा उल्लेख छ ।

नक्कली बिल भरपाई बनाएर बढी भुक्तानी दिएको आरोप उनीमाथि छ । आयोगले प्रमुख बुढाविरुद्ध २० लाख ७० हजार ४४९ रुपैयाँ बिगो कायम गरेको छ । यस्तै, छाँयानाथ रारा नगरपालिका मुगुका तत्कालीन इन्जिनियर हरिदेव पंडित र सव–इन्जिनियर विष्णुभक्त हितानलाई विरुद्ध १६ लाख ७० हजार ६२८ रुपैयाँ बिगो कायम गरिएको छ ।








