काठमाडौं : चितवनमा गत वर्ष साउनदेखि हालसम्ममा एक हजार सात सय ७१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका ती बिरामीमा डेंगुको सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा एक हजार सात सय ७१ मा डेंगु सङ्क्रमण भेटिएको हो । सङ्क्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका बासिन्दा हुन्। तीमध्ये ६ सय ६५ पुरुष र ६ सय तीन महिला रहेका छन् ।
यस्तै, ठेगना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न आएका तीन सय ६५ जनामा डेंगु सङ्क्रमण देखिएको छ । एक जनाको भने उपचारका क्रममा मृत्यु भएको केसीले बताए ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेंगु देखिएको छ । खैरहनी नगरपालिकामा एक सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा दुई सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेंगु सङ्क्रमण देखिएको छ । डेंगु रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ ।
यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो। यसबाट बच्न झुल लगाएर सुत्ने, साँझ–बिहान पूरै शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगु सङ्क्रमण रोकथाम गर्न सकिने विज्ञहरूको भनाइ छ ।








