

काठमाडाैं- बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने गरी अध्ययन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय हेटौँडा अस्पताल र प्रतिष्ठानबिच स्वामित्व विवाद चर्किँदै जाँदा प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणको अध्ययन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार मकवानपुरको हेटौँडा, बकैया वा मनहरी सहितका विभिन्न स्थानीय तहमा अस्पताल स्थापनाको लागि अध्ययन गरिने छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको उनले बताए ।


