

काठमाडाैं : आज मे २८ अर्थात् विश्व रक्त क्यान्सर दिवस । यो दिवस विश्वभरी रक्त क्यान्सर विरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरिन्छ । दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर अन्तर्गत हेम्याटोलोजी विभागले रक्त क्यान्सरको शंकास्पद लक्षण देखिए तुरुन्तै निदान र उपचार गर्न अनुरोध गरेको छ ।
हेम्याटोलोजी विभागका प्रमुख, कन्सल्टेन्ट क्लिनिकल हेम्याटोलोजिस्ट डा अमित श्रेष्ठ भन्छन्-
‘पहिला नेपालमा ब्लड क्यान्सरको उपचार असम्भव मानिन्थ्यो भने अहिले हेम्याटोलोजी क्षेत्रमा आधुनिक प्रविधिको विकास भएसँगै विभिन्न किसीमका ब्लड क्यान्सरका रोगहरुको गुणस्तरीय उपचार नेपालमै सम्भव हुनथालेको छ । प्रारम्भिक चरणमै निदान, परीक्षण र उपचार हुन सकेमा रक्त क्यान्सरका बिरामीहरुले पनि एउटा स्वस्थ जीवन बिताउन साथै आममानिस जस्तै दैनिक जीवन यापन गर्न सक्छन् ।
ब्लड रक्त क्यान्सर बारेमा हाम्रो समाजमा अझै पनि जन चेतनाको कमी छ । त्यसैले रक्त क्यान्सरका लक्षणहरुको बारेमा समयमै जानकारी हुन जरुरी छ ।
कसैलाई ज्वरो आइराख्ने, छालामा रातो वा नीलो दाग धब्बा देखिएमा, नाक गिजाबाट रगत बग्ने, गल्ने, थाक्ने, चक्कर लाग्ने, जोर्नी तथा हड्डी दुख्ने, शरीरका भागहरुमा गीर्खागीर्खीहरु आउने र फियो कलेजो सुन्निने समस्या देखिएमा यो ब्लड क्यान्सरको लक्षण हो कि भनेर समयमै हेम्याटोलोजिस्टसँग परामर्श गर्नुपर्ने हुन्छ ।’



