

काठमाडौं : एम्बुलेन्सको ठक्करबाट मर्निङ वाकमा हिँडेका एक जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । बुटवलनजिकै बेलबासमा आइतबार बिहान अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर गइरहेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका-१३ झोलुंगे पुलनजिकै ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट बुटवल उपमहानगरपालिका-११ बेलबासकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको छ । घटनामा बुटवल-११ कै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएका छन् । मर्निङ वाकमा हिँडेका उनीहरूलाई बाटो क्रस गर्ने क्रममा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । स्थानीयले घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएका थिए । उपचारकै क्रममा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ का नारायणबहादुर गब्तार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



