चितवन : चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो ।

इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ। गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गरिएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बताए

‘गर्मीमा प्रयोग गरिने ‘कोल्ड ड्रिंक्सभन्दा दही र मोही प्रयोग गर्नसके स्थानीय उत्पादनको प्रबर्द्धन गर्न सकिन्छ भनेर हामीले सो निर्णय गरेका हौं, स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ ।’ अध्यक्ष गुरुङले गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा पनि सोही प्रकारको सर्कुलर गर्ने तयारी गरेको जानकारी दिए ।
गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिका कार्यालयमा चिसो पेय पदार्थ निषेध गरेको हो । अहिले कार्यक्रम हुँदा गाउँपालिकामा १० लिटरसम्म मोही प्रयोग हुने गरेको अध्यक्ष गुरुङले बताए ।







