काठमाडौं । नेपालमा कीटजन्य रोगको प्रकोप बढ्दै गए पनि रोकथाम तथा नियन्त्रणका लागि पर्याप्त प्रयास हुन नसकेको सरोकारवालाले बताएका छन्। बजेट अभाव, जनचेतनाको कमी र नागरिकस्तरमा हुने लापरबाहीका कारण बर्सेनि हजारौँ नागरिक यस्ता रोगबाट सङ्क्रमित भइरहेका छन् भने केहीले ज्यानसमेत गुमाउने गरेका छन्।
डेंगु, औलो (मलेरिया), कालाजार, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइफस र चिकनगुनिया प्रमुख कीटजन्य रोग हुन्। जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण, वातावरणीय असन्तुलन र जताततै पानी जम्ने समस्याले यस्ता रोग फैलाउने लामखुट्टे तथा अन्य कीटको प्रजनन बढाएको स्वास्थ्य अधिकारीहरू बताउँछन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जुनोटिक तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. अमृत पोखरेलले जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण र जनचेतनाको अभावले कीटजन्य रोगको प्रकोप बढिरहेको बताए। रोग लागेपछि हेलचेक्य्राइँ नगर्न र समुदायस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ।
स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य सेवा प्रशासक गोकर्ण दाहालले कीटजन्य रोगको रोकथाम र नियन्त्रणका लागि संघीय सरकारको मात्रै भर पर्न नहुने बताए। प्रदेश र स्थानीय सरकारले पनि पर्याप्त बजेट विनियोजन गरी रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। रोग निवारणको लक्ष्य लिइएका कार्यक्रमको जिम्मेवारी भने संघीय सरकारले पूर्ण रूपमा वहन गर्नुपर्ने उनको भनाइ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा स्क्रब टाइफसको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ। हालसम्म देशभर ११ हजार ४० जनामा सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशगत विवरणअनुसार लुम्बिनीमा सबैभन्दा बढी ३ हजार ६६ जना सङ्क्रमित भेटिएका छन्। सुदूरपश्चिममा २ हजार ११३ र गण्डकीमा २ हजार ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ। जिल्लागत रूपमा दाङमा ६५८, स्याङ्जामा ५६५ र संखुवासभामा ५०५ जनामा सङ्क्रमण देखिएको छ।
विशेषगरी जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्ने गरेको छ। झाडी, घाँस, खेतबारी तथा जङ्गलमा पाइने सङ्क्रमित किर्नाको टोकाइबाट यो रोग सर्छ। अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने र शरीरमा रातो दाग वा घाउ देखिने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकले सुझाव दिएका छन्। पूर्ण शरीर ढाक्ने कपडा लगाउने, झारपात व्यवस्थापन गर्ने तथा मुसा नियन्त्रणमा ध्यान दिनाले सङ्क्रमणको जोखिम घटाउन सकिन्छ।
डेंगुको सङ्क्रमण पनि देशभर देखिएको छ। महाशाखाको तथ्याङ्कअनुसार हालसम्म ६ हजार १९२ जनामा डेंगु पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ। प्रदेशगत रूपमा गण्डकीमा सबैभन्दा बढी २ हजार ६९७ जना सङ्क्रमित भएका छन्। कोशीमा ९८५ र बागमतीमा ८८६ जनामा सङ्क्रमण देखिएको छ।
जिल्लागत विवरणअनुसार बागलुङमा सबैभन्दा बढी १ हजार ५२२ जनामा डेंगु पुष्टि भएको छ। कास्कीमा ४४१ र काठमाडौंमा ३१३ जना सङ्क्रमित भएका छन्।
डेंगु सङ्क्रमण हुँदा अत्यधिक पेट दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, गिजा वा नाकबाट रगत बग्ने तथा अत्यधिक थकान महसुस हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ। घरवरपर पानी जम्न नदिने, पानी जम्मा हुने भाँडाकुँडा सफा गर्ने र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्।
जापानिज इन्सेफ्लाइटिस (जेई) बाट पनि यस वर्ष ठूलो सङ्ख्यामा नागरिक प्रभावित भएका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको प्रतिवेदनअनुसार सन् २०२६ अक्टोबर १ सम्म देशका सातै प्रदेशका ३७ जिल्लाका ९० स्थानीय तहमा १३१ जनामा प्रयोगशाला परीक्षणबाट जेई पुष्टि भएको छ। यस रोगबाट २८ जनाको मृत्यु भएको छ।
प्रतिवेदनअनुसार जेई सङ्क्रमितमध्ये ८७ प्रतिशतले यसविरुद्धको खोप लगाएका थिएनन्। मृत्यु भएका सबै व्यक्ति पनि खोप नलगाएका रहेको उल्लेख छ। सुरुमा नेपालको पूर्वी क्षेत्रमा देखिएको सङ्क्रमण क्रमशः पश्चिमतर्फ फैलिँदै गएको महाशाखाको महामारीसम्बन्धी टिप्पणीमा उल्लेख छ। सङ्क्रमितमध्ये ७९ प्रतिशत तराईका जिल्लाका छन्।
जेई सङ्क्रमितमध्ये ६७ प्रतिशत १५ वर्षभन्दा माथिका उमेर समूहका छन्। धानखेत तथा सुँगुर फार्मनजिक बसोबास गर्ने र कृषि पेसामा आबद्ध व्यक्तिमा यसको जोखिम बढी देखिएको छ। सङ्क्रमितमध्ये ५५ प्रतिशत कृषि पेसामा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालयले नियमित खोप कार्यक्रमअन्तर्गत १२ महिनाको उमेर पुगेका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउन आग्रह गरेको छ। छुटेका बालबालिकालाई पाँच वर्षको उमेरसम्म खोप लगाउन सकिने व्यवस्था रहेको छ। क्युलेक्स जातको लामखुट्टेबाट सर्ने यो रोगबाट बच्न धानखेत तथा सुँगुर फार्मवरपर सरसफाइमा ध्यान दिन र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन पनि आग्रह गरिएको छ।
कीटजन्य रोगको सङ्क्रमण र मृत्युका घटना दोहोरिरहँदा रोकथामका लागि पर्याप्त बजेट, प्रभावकारी जनचेतना र स्थानीय तहसम्म समन्वय आवश्यक देखिएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार रोगका लक्षण देखिएपछि उपचारमा ढिलाइ नगर्नु र उपलब्ध खोप तथा व्यक्तिगत सुरक्षाका उपाय अपनाउनु सङ्क्रमणबाट जोगिने महत्त्वपूर्ण उपाय हुन्।









