काठमाडौं । सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार कार्यक्रमका लागि आवश्यक औषधि देशभर पठाइसकिएको छ। केही स्थानमा औषधि पुर्याउने काम भइरहेको र कार्यक्रम प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको उनले बताए।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा थापाले भिटामिन ‘ए’ वितरण कार्यक्रमका लागि करिब ५१ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन हुने जानकारी दिए। त्यस्तै, करिब १० हजार स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधि पनि कार्यक्रमको अनुगमन र सहजीकरणमा खटिनेछन्।
यो राष्ट्रिय कार्यक्रम भएकाले देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन हुनेछ। बालबालिकाको सङ्ख्याका आधारमा आवश्यक औषधि स्थानीय तहमा पठाइएको छ। स्थानीय तहले आफ्नो आवश्यकता र अनुकूलताअनुसार विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सङ्घसंस्थाका भवन तथा अन्य सार्वजनिक स्थानमा औषधि वितरण केन्द्र निर्धारण गर्नेछन्।
थापाका अनुसार लक्षित बालबालिकाको सङ्ख्याभन्दा केही बढी भिटामिन ‘ए’ पठाइएको छ। बसाइँसराइका कारण बालबालिकाको सङ्ख्यामा हुन सक्ने परिवर्तन र वितरणका क्रममा औषधि अपुग हुन सक्ने अवस्थालाई ध्यानमा राखेर थप औषधिको व्यवस्था गरिएको उनले बताए। विशेषगरी सहरी क्षेत्रमा बालबालिकाको वास्तविक सङ्ख्या यकिन गर्न कठिन हुने भएकाले आवश्यकताअनुसार थप औषधि पठाइएको उनको भनाइ छ।
निर्धारित दुई दिनमा कुनै कारणले औषधि खुवाउन छुटेका बालबालिका पनि यसबाट वञ्चित नहुने थापाले बताए। वितरणका क्रममा बाँकी रहेका भिटामिन ‘ए’ स्वास्थ्य संस्थामा राखिने र छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर औषधि खुवाउन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए।
ग्रामीण क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई आफ्नो टोलमा रहेका बालबालिकाको सङ्ख्याबारे जानकारी हुने भएकाले औषधि वितरण व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। थापाले अभिभावकलाई आफ्ना बालबालिकाको उमेरअनुसार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन नजिकको वितरण केन्द्रमा लैजान आग्रह गरेका छन्।
पोषण शाखा प्रमुख थापाका अनुसार बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिनु, आँखाको स्वास्थ्य जोगाउनु तथा कुपोषणसँग सम्बन्धित समस्याको जोखिम घटाउनु कार्यक्रमको मुख्य उद्देश्य हो। विगतमा गरिएको सूक्ष्म पोषण तत्त्वसम्बन्धी राष्ट्रिय सर्वेक्षणमा बालबालिकामा भिटामिन ‘ए’ को कमी तथा रतन्धोको समस्या देखिएपछि पाँच वर्षमुनिका बालबालिकालाई नियमित रूपमा भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको उनले बताए।
भिटामिन ‘ए’ आँखाको स्वास्थ्यका लागि महत्त्वपूर्ण पोषक तत्त्व हो। यसको कमीले रतन्धोजस्ता समस्या निम्त्याउन सक्छ। विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार पाँच वर्षमुनिका बालबालिकालाई वर्षमा दुई पटक भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरिँदै आएको थापाले जानकारी दिए।
यसैबीच, सरकारले बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिमा सूक्ष्म पोषण तत्त्वको वर्तमान अवस्था पत्ता लगाउन राष्ट्रियस्तरको सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको छ। सर्वेक्षणमा भिटामिन ‘ए’, आइरन, आयोडिन, जिंक तथा भिटामिन बी–१२ लगायतका सूक्ष्म पोषण तत्त्वको अवस्थाबारे अध्ययन गरिनेछ। रगत तथा पिसाबको परीक्षणमार्फत पोषणको अवस्था पहिचान गर्ने लक्ष्य राखिएको थापाले बताए।
सर्वेक्षणबाट प्राप्त नतिजाले आगामी वर्षमा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न तथा नीतिगत निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारले अभिभावकलाई निर्धारित मितिमा आफ्ना बालबालिकालाई नजिकको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन आग्रह गरेको छ।









