

झापा : झापामा अझै पनि हात्ती पाइले रोगको सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ । बिर्तामोड नगरपालिकामा मात्र ४ जना नयाँ हात्तीपाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला परेको जनाइएको छ ।
मङ्गलवार र बुधवार गरेर ४ जना नयाँ बिरामी फेला परेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिनु भएको छ ।
केही दिनयता बिर्तामोड नगरपालिकाभित्र हात्तीपाइले रोगको विषयमा जनचेतनासहित आम औषधि सेवन कार्यक्रम सुरु भएपछि नयाँ बिरामीहरू पत्ता लाग्ने क्रम पनि सुरु भएको नगरपालिकाले जनाएको छ ।
अहिलेसम्म ५ जना नयाँ बिरामीहरू फेला परेको र यसलाई गम्भीर रूपमा लिइएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण १३ औँ अभियान केही दिन अघिदेखि झापामा जारी रहेको छ ।


