

डडेलधुरा : जिल्लाका स्थानीय एग्रोभेटबाट म्याद सकिने मिति अथवा उत्पादन मिति र बिउ लगाउनेसम्बन्धी जानकारीबिनाका बिउहरू बिक्रीवितरण भइरहेकाे पाइएकाे छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि वस्तुको उत्पादन मिति, म्याद सकिने मिति र कुनै निश्चित समयभित्र उपभोग वा प्रयोग गरिसक्नुपर्ने जानकारी खुलाउनुपर्ने व्यवस्था रहेको छ । यहाँका एग्रोभेट पसलहरूले भने आफ्ना उत्पादनमा प्रस्ट देखिने मिति खुलाउने गरेका छैनन् ।
नेपाल सिड्स कम्पनीले उत्पादन गरेका बिउमा उत्पादन मिति, म्याद गुज्रिने मिति वा उत्पादन अवधि खुलाइएको छैन । कृषि ज्ञान केन्द्र र जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायको संयुक्त अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनले व्यवस्थाविपरीत एग्रोभेटहरूले बिउसँगै विषादी र अन्डा एकै ठाउँमा भण्डारण गरेर बिक्रीवितरण गरिरहेको पाइएको छ ।
कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख खेमराज पनेरूले अमरगढी नगरपालिका–५, बागबजारस्थित बसपार्कछेउमा रहेको युनाइटेड सिड्स नेपाल कम्पनीले उत्पादन गर्ने टमाटर र फर्सीको बिउमा उत्पादन मिति मात्रै उल्लेख गरेको जानकारी दिए । टमाटर र फर्सीका बिउमा उत्पादन मिति जुलाई २०२२ उल्लेख गरिएको छ ।
सो घटनाका सम्बन्धमा नेपाल कम्पनीका प्रबन्धक नेमप्रसाद श्रेष्ठसँग बुझ्दा सामान्यतया बिउको म्याद दुई वर्ष हुने गरेको बताए । तर म्याद सकिने मिति उल्लेख नभएका बिउहरू बिक्रीवितरण नगर्न एग्रोभेट सञ्चालकलाई पहिलो पटक सम्झाइबुझाइ गरिएको उनले बताए । यस्तै विषादी र कुखुरा, गाईवस्तुका औषधीको म्याद ग्रजिएको पाइएको उनले जानकारी दिएर । बगरकोट सडकमा रहेको पारस एग्रोभेट एन्ड पेट हाउसले विषादी र अन्डा एकै ठाउँमा भण्डारण गरेर बिक्रीवितरण गरेको पाइएको छ । विषादीलाई अलग्गै कोठामा भण्डारण गरेर छोपेर राख्नुपर्ने प्रावधान छ ।
“विषादी प्रयोगकर्ता अथवा किसानलाई देखाउन जरुरी नै भए पनि सिसाभित्र राख्नुपर्ने हुन्छ तर पारस एग्रोभटमा त्यो पनि गरिएको भेटिएन ” कृषि ज्ञान केन्द्र प्रमुख पनेरूले भने ।
एग्रोभेट सञ्चालक गोकुलप्रसाद बाहुनलाई विषादी र अन्डा अलग्गै भण्डार गर्न एक दिनको समय दिइएको उनले बताए । विषादी, अन्डा र कुखुराका दानासमेत एकै ठाउँबाट बिक्रीवितरण गरेको पाइएकाले पहिलो पटक व्यवस्थापन सचेत गराइएको उनले बताए ।


