

टीकापुर : कैलालीको टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल भएको छ । ‘पोषणमैत्री स्थानीय शासन पालिका’ घोषणाका लागि भइरहेका योजना तथा कार्यान्वयनको अवस्थाबारे छलफल भएको हो ।
नगरपालिकाले वडा नं ३ लाई पहिलो चरणमा पोषणमैत्री स्थानीय वडा घोषणाका लागि गत वर्षदेखि काम गरिरहेको छ । ‘बहुक्षेत्रीय पोषण योजना तथा पोषण कार्यक्रम’अन्तर्गत टीकापुरमा भएका कार्य र पोषणमैत्री स्थानीय शासनको कार्यविधिको मस्यौदामाथि प्रारम्भिक छलफल भएको युनिसेफका पोषण अधिकृत प्रकाशचन्द्र जोशीले बताए । कार्यक्रमको सहजीकरण जोशीले गरेका छन् भने कार्यविधिको मस्यौदा परामर्शदाता शेतबहादुर भुलले प्रस्तुत गरेका थिए ।
पोषणमैत्री स्थानीय वडा तथा पालिका बनाउन शासकीय पद्धतिमा पोषणका विषयलाई छलफल गर्नु, पोषण सेवा प्राप्तिको सुनिश्चितता र सुधारका लागि बहुक्षेत्रीय प्रयास गर्न आवश्यक रहेको जोशीले बताए । यसका लागि विभिन्न चुनौती रहेका भन्दै उनले टीकापुरले चुनौतीलाई चिरेर काम गर्ने प्रयास गरिरहेको बताए । टीकापुरमा बहुक्षेत्रीय पोषणका आशिंक कार्यक्रम सञ्चालन छन् ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नं ३ मा विविध कार्यक्रम भइरहेका जोशीले जानकारी दिए । “पोषणमैत्री स्थानीय शासन लागू भएको घोषणा गर्न ७६ वटा सूचक पूरा गर्नुपर्ने हुन्छ । यसका लागि पालिका, पालिकामा रहेका सात वटै विषयगत शाखा, सङ्घ संस्था तथा सबै सरोकारवालाको सक्रियता उत्तिकै आवश्यक पर्ने भएकाले सबैलाई जिम्मेवार बनाउन थालेका छौँ”, स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भने ।
उनका अनुसार पहिलो चरणमा छनोट भएको वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । “घोषणाका लागि पालिकाले बजेटको सुनिश्चितता गर्ने, हरेक कार्यलाई पोषणका नजरले हेरेर काम गर्न आवश्यक छ”, रावलले भने । प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले पोषणमैत्री स्थानीय शासन लागू गर्न पालिकाको स्रोतको सुनिश्चितता गर्नुपर्ने, सबै नागरिकको घरमा पोषणको उपलब्धता हुनुपर्ने र नागरिकको आम्दानीसमेत बढ्नुपर्ने बताए ।
“कृषि पशुपालन, करेसाबारीलगायत क्षेत्रमा लगानी बढ्नुप¥यो”, उनले भने, “यसका लागि स्थानीय स्रो परिचालन गर्न सकिन्छ । हामीले आइरन पाइने खानेकुरा सागपात, हरिया तरकारी, फलफुललगायत खान जानेका छैनौँ । बारी ती बाली लगाउन प्रेरित गर्नुपर्छ ।”


