

जुम्ला : पछिल्लो समयमा बिमाको महत्त्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बिमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार ४११ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।
हालसम्म ४५ हजार ७२४ महिला र ४४ हजार ६८७ जना पुरुष स्वास्थ्य बिमामा आबद्ध भएका जिल्लास्थित स्वास्थ्य बिमा कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए । उनले भने, “जिल्लाका ११ हजार ६४८ घरपरिवार बिमामा आबद्ध छन् ।” विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बिमाको सेवा विस्तार भएको उनको भनाइ छ ।
स्वास्थ्य बिमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्णरुपमा जानकारी नहुँदा यसको महत्त्वबारे बुझेका थिएनन् । अहिले बिमा सहजकर्ता घरघरमा गएर बिमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बिमामा आबद्ध हुने स्थानीयको संख्या बढेको कार्यालय प्रमुख भण्डारीले बताए ।जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याउनका लागि कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ ।
सरकारले अपांगता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बिमा गर्ने व्यवस्था गरेको छ ।अन्यको हकमा शुल्क लिएर एक लाख बराबरको स्वास्थ्य बिमा गर्ने गरिएको कार्यालयले जनाएको छ । बिमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले सहभुक्तानीको व्यवस्था समेत गरेको छ । सरकारले विसं २०७२ देखि स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो ।


