

काठमाडौं : पूर्व स्वास्थ्य सचिव एवं दन्त रोग विशेषज्ञ स्वर्गीय डा. प्रविण मिश्रको सम्झनामा शुक्रबार कान्तिपुर डेन्टल कलेजमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
कलेजका अध्यापक समेत रहेका मिश्रको सम्झनामा विद्यार्थी तथा शिक्षकले स्वर्गीय मिश्रप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

श्रद्धाञ्जली सभामा बोल्दै कलेजका प्राचार्य डा. रवीन्द्रमान श्रेष्ठले स्वर्गीय डा. मिश्र विद्यार्थी, शिक्षक एवं पेशाकर्मीका लागि उदाहरणीय व्यक्ति भएको बताए । मिश्रको असामयिक निधनले दन्त चिकित्सा र शिक्षाका क्षेत्रमा ठूलो क्षति भएको उनको भनाइ छ ।
कार्यक्रममा कलेजका अध्यापक, कर्मचारी एवं स्वास्थ्यकर्मी सहभागी थिए ।



